एक दिवसीयजस्तै टी-२० सिरिज पनि जित्ला नेपालले ?

 माघ १९, २०७५ शनिबार १८:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र यूएई टी–२० सिरिज जित्नका लागि आइतबार एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

नेपालकाे टी–२० सिरिज पनि जितेर इतिहास बनाउने लक्ष्य रहेको छ भने यूएईलाई घरमै एक दिवसीय सिरिज गुमाएको पीडा बिर्सिएर टी–२० सिरिज जोगाउने ध्याउन्न हुने छ ।

नेपाली टिममा अहिले युवा खेलाडीहरुको वर्चश्व रहेको छ । यूएई टुरमा अनुभवी खेलाडी शरद भेषावकर बिरामी परेका कारण खेल्नै गएनन् भने त्यहाँ पुगेका बसन्त रेग्मीको पनि प्रदर्शनबाट उत्साहित हुने ठाउँ छैन ।

त्यसैगरी नेपालले ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन । एक दिवसीय क्रिकेटमा विकेट किपिङ र ओपनिङ गरेका विनोद भण्डारी टी –२० मा शुरुका दुई खेलमा टिममा पर्न सकेनन् ।

टी–२० मा ओपनिङ तथा विकेट किपरको भूमिकामा आएका प्रदीप ऐरी दुवै खेलमा चल्न नसकेपछि उनी आइतबारको टिममा पर्ने सम्भावना न्यून रहेको छ ।

उनको ठाउँमा विनोद भण्डारीलाईनै खेलाउने योजना रहेको छ । यसैगरी बसन्त रेग्मीको खेल्ने सम्भावना पनि कम रहेको छ । एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखेका रोहितकुमार पौडेल टी–२० को पहिलो खेलमा नचलेपछि दोस्रो खेलमा बेन्चमै बस्न पुगे ।

यसैगरी सन्दीप जोराले अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए तर दोस्रो खेलमा उनको जोर चल्न सकेन । एक दिवसीय र टी–२० सिरिजका लागि १६ जना खेलाडी यूएई गएकोमा अहिलेसम्म भीम सार्कीले डेब्यु गर्न पाएका छैनन् ।

युवा खेलाडीहरुले डेब्यु खेलमै राम्रो प्रदर्शन गरेकाले युवा खेलाडीहरु नै अन्तिम खेलमा पनि सहभागी हुनेछन् ।

 

भोलिको सम्भावित नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने, अभिनास बोहरा टिममा पर्ने  छन् ।

यसैगरी सन्दीप जोरा, रोहित कुमार पौडेल, ललितनारायण राजबंशी र भीम सार्की मध्यबाट बाँकी २ जना खेलाडीले अन्तिम ११ मा स्थान बनाउने छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया