प्युठान बस दुर्घटना : चालकसहित ५ को मृत्यु, २५ घाइते (अपडेट)

 बैशाख ३०, २०७५ आइतबार ८:४२:५३ | एलबी थापा
unn.prixa.net

प्युठान, वैशाख ३० – महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटनामा चालक कैलालीका बीरबहादुर थारुसहित ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि अन्य २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । गम्भीर घाईते भएका ४ जनालाई बुटवल लगिएको छ । अन्य २१ जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

ज्यान गएका ५ मध्ये ४ जनाको शव बाहिर निकालिएको छ । १ महिलाको शव गाडीमै च्यापिएको र गाडी कटिङ गरेर निकाल्ने कार्य भैरहेका प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

गाडी चालक बाहेक अन्यको सनाखत हुन सकेको छैन । दुर्घटनाको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको प्रहरी टोली दुर्घटना स्थलमा परिचालित भएको छ ।

बसको हेड लाईट बिग्रेपछि बस सडकबाट २ सय मिटर तल खसेको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट खुल्न आएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्लास्थित सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालित भएका छन् । उद्धार कार्य भैरहेकाे र विस्तृत विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया