बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

 माघ २१, २०७५ सोमबार २०:०:५५ | भावुक योगी

बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ । 

सीतापुर गाउँमा पसेको बाघको आक्रमणबाट २ जना स्थानीयवासी घाइते भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । 

गाउँमा पसेको बाघको आक्रमणबाट स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाही, र ३० वर्षीय विजय बुढाक्षेत्री घाइते भएको वन कार्यालय बर्दियाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

घाइतेमध्ये शाहीलाई नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र बुढाक्षेत्रीको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

बाघ गाउँको अडहर बारीमा रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको र निकुञ्जसहित सेनाको टोली डार्ट गर्नका लागि तयारी अवस्थामा त्यसतर्फ प्रस्थान गरिसकेको उहाँले बताउनुभयो ।

बाघको आक्रमणबाट थप क्षति हुन नदिनका लागि इलाका प्रहरी कार्यालय मैनापोखरले माइकिङ्ग गरी स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन र घरको ढोकाको चुकुल लगाएर घरभित्रै बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो

बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान छ । अत्तालिएर गाउँ पसेको बाघ होहल्ला नभएमा विस्तारै रातिसम्म आफ्नो बासस्थानतर्फ प्रवेश गर्न सक्ने समेत निकुञ्जले अनुमान गरेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया