मोदीको स्वागतका नाममा भ्रष्टाचार भएको हुनसक्ने आशंका

 असार ७, २०७५ बिहिबार ८:३०:२८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण सकेको एक महिनाभन्दा बढी भैसक्दा समेत उहाँको स्वागतमा भएको खर्च सार्वजनिक भएको छैन । उहाँको स्वागतका नाममा भ्रष्टाचार भएको आशंका छ । गएको वैशाख २८ गते जनकपुरमा मोदीको भ्रमण भएको थियो । 

जनकपुरमा मात्र मोदीको स्वागतमा ७ करोड २० लाख रुपैयाँ खर्च भएको चर्चा छ । तर स्वागतको जिम्मेवारी लिएका प्रदेश नं. २ सरकार र जनकपुर उपमहानगरपालिकाले खर्च सार्वजनिक गरेका छैनन् ।

मोदीभ्रमणकै बेलादेखि उहाँको स्वागतमा भएको खर्च सार्वजनिक गर्नुपर्ने माग हुँदैछ । यसको लागि प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाको चौतर्फी आलोचना पनि हुँदैछ । 

प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले खर्च सार्वजनिक गर्न माग गर्दै आएको छ । मोदी भ्रमणको एक महिनाभन्दा बढी भैसक्दा खर्च सार्वजनिक नगरेपछि मोदीको स्वागतका नाममा भ्रष्टाचार भएको भन्ने शंका उपशंका बढ्दै गएको छ ।  

सिरहाको मिर्चैया घरभई हाल जनकपुरमा बस्ने राधे कर्णले हालसम्म प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीको स्वागतमा गरेको खर्च विवरण सार्वजनिक नगर्नुले भ्रष्टाचार भएको हुन सक्ने शंका व्यक्त गर्नुभयो ।

‘यदि भ्रष्टाचार भएको छैन भने चर्को आलोचना हुँदा समेत खर्च किन सार्वजनिक भएन ?’, उहाँले भन्नुभयो ‘ अहिले पनि समय छ । यदि भ्रष्टाचार भएको छैन भने छिटोभन्दा छिटो प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले नागरिकसामु खर्च पारदर्शी गरिदिनुपर्छ ।’

मोदीको स्वागतमा ७ करोड २० लाख रुपैयाँ खर्च भएको बाहिरी चार्च कतिपय स्थानीयबासिन्दालाई अपत्यारिलो जस्तै लागेको छ ।

जनकपुर उपमहानगरपालिका ९ बस्ने ईन्दिरा थापा यादवले मोदीको स्वागतको नाममा ७ करोड २० लाख मात्र खर्च हुनै नसक्ने भन्दै जे जति खर्च भएपनि खर्च सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

‘मोदी जनकपुरको भ्रमण गर्नु हाम्रो लागि गौरवको कुरा हो’ उहाँले भन्नुभयो, ‘तर उहाँको भ्रमणमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले हालसम्म खर्च विवरण सार्वजनिक नगर्नु लज्जास्पद कुरा हो । खर्च छिटो सार्वजनिक हुनुपर्छ ।’

मोदी भ्रमणको लागि जनकपुर उपमहानगरपालिकाले विवाह मण्डप र ऐतिहासिक बाह्रविघा मैदानको उत्तरी भित्ता केशरिया रंगले रंग्याउने, ती भित्ताहरुमा मिथिला चित्रकला कोर्ने, रामानन्दचोकदेखि जानकी मन्दिरसम्मको सडक कालोपत्रे, ठाउँ ठाउँमा स्वागतद्वार निर्माण, सरसफाई, बाह्रविघाको पश्चिम र उत्तर छेउको सडकमा हल्का ग्राईभेल गरेर सम्याउने लगायतको काम गरेको थियो ।

यस्तै बाह्रविघा मैदानमा मोदीको अभिनन्दन समेत भएको थियो । यस काममा मात्र जनकपुर उपमहानगरपालिकाले झण्डै १ करोड ८० लाख रुपैयाँ खर्च गरेको उपमेयर रीता झाले बताउनुभयो । तर वास्तविक खर्च विवरण जनकपुर उपमहानगरपालिका कार्यालयसँग पनि छैन ।

जनकपुर उपमहानगरपालिकाले हालसम्म मोदीको स्वागतको नाममा गरेको खर्च किन सार्वजनिक गरेन ? भन्ने जिज्ञासामा उपमेयर झाले भन्नुभयो ‘हामीले गरेको खर्च मात्रै मोदीको स्वागतको नाममा गरेका छैनौं ।  नगरसभाबाटै मिथिला चित्रकला पेन्टिंग र ग्राईभेल गर्ने बजेट छुट्याएको थियो । तर मोदीको जनकपुर भ्रमण तय भएपछि त्यसै शीर्षकको बजेट हामीले खर्च गरेका छौं ।’ 

यस्तै प्रदेश नं. २ सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुको नेतृत्वमा ६ वटा समिति बनाएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा मूल समारोह समिति, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा मञ्च व्यवस्थापन समिति, कृषिमन्त्री शैलेन्द्र साहको नेतृत्वमा जनपरिचालन समिति ,उद्योग पर्यटन मन्त्री रामनरेश रायको संयोजकत्वमा प्रचार प्रसार समिति, अर्थ मन्त्री विजय यादवको संयोजकत्वमा अर्थ समिति र गृहमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा सुरक्षा समिति गठन गरेर मोदीको स्वागतका लागि तयारी गर्न खर्च गरेको थियो ।

अहिलेसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कहाँ के कति खर्च भएको छ भन्ने सम्मको सबै तथ्यांक नआईपुगेको जनाएको छ । अहिलेसम्म प्रदेश सरकारसँग पनि वास्तविक खर्च कति भएको छ भन्ने तथ्यांक छैन ।

यस विषयमा प्रदेश सरकारका  आर्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारले मोदीको स्वागत खर्च ब्यहोर्ने भनेपनि हालसम्म एक पैसा समेत नपठाएको गुनासो गर्नुभयो ।

सदनमा कहिल्यै पनि खर्च सार्वजनिक नभएर  सम्बन्धित समितिमार्फत सार्वजनिक गर्ने हुनाले सबै पार्टीलाई समिति निर्माण गर्न परिपत्र गरेको बताउनुभयो ।

‘ती पार्टीहरुबाट प्रतिनिधि आउँछन् र प्रतिनिधि आउनेबितिकै हामीले समिति बनाउँछौं । र त्यो समितिमा हरहिसाब जान्छ’, मन्त्री यादवले भन्नुभयो ‘समिति नभएको कारणले हामी हरहिसाब सार्वजनिक गर्न सकेका छैनौ । तर अब हामी छिट्टै समिति बनाएर हरहिसाब सार्वजनिक गर्छौं ।’   

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया