कफी खेतीको विकास र विस्तारका लागि धनकुटामा कार्यशाला

 माघ २५, २०७५ शुक्रबार १६:५२:४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – विश्व बजारमा नेपालमा उत्पादित कफीको परिमाण मागभन्दा झण्डै १५ प्रतिशत मात्र उत्पादन हुने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका क्षेत्रीय निर्देशक लक्ष्मणप्रसाद पोखरेलले विश्व बजारमा ८ हजार मेट्रिक टन माग भए पनि नेपालमा भने अहिले ५ सय १३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको बताउनुभएको छ ।

धनकुटामा शुक्रबार आयोजित कफी खेतीको विकास र विस्तारका लागि उत्प्रेरणात्मक तथा प्रवर्द्धनात्मक कार्यशाला गोष्ठीमा पोखरेलले नेपालको ४२ जिल्लाको १२ लाख हेक्टर जमीनमा अराविका जातको कफी खेती गर्न सकिने भए पनि अहिले २ हजार ६ सय ५० हेक्टरमा मात्र खेती हुँदै आएको बताउनुभयो । 

नेपालमा ८० वर्ष अगाडिदेखि नै कफी खेतीको सुरुवात भए पनि अहिलेसम्म यसलाई व्यवसायिक खेतीको रुपमा विकास गर्न नसक्नु दुखद भएको पोखरेलले बताउनुभयो ।

कफीको व्यावसायिक खेतीमा लाग्न किसानलाई आग्रह गर्दै क्षेत्रीय निर्देशक पोखरेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुपर जोनको रुपमा गुल्मी, प्यूठान, पाल्पा, अर्घाखाँची र स्याङजा जिल्लामा कफी खेतीको विस्तार भइरहेको जानकारी दिनुभयो । 

धनकुटामा १० हजार हेक्टर जमीनमा कफीको व्यवसायिक खेती गर्न सकिने समेत उहाँको भनाइ थियो । नेपालले ८४ मेट्रिक टन कफी निर्यात गरे पनि १ सय ६३ मेट्रिक टन आयात गरिरहेको तथ्यांक छ । 

धनकुटामा दुई दिनसम्म सञ्चालन हुने कफी खेतीको विकास र विस्तारका लागि उत्प्रेरणात्मक तथा प्रवर्द्धनात्मक कार्यशाला गोष्ठीमा जिल्लाभरका कफी कृषकहरुको सहभागिता रहेको जिल्ला कफी व्यवसायी संघ धनकुटाका अध्यक्ष डिल्लीश्वर दर्नालले बताए ।

अन्तिम अपडेट: चैत ८, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया