‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनमा सुरु

 माघ २८, २०७५ सोमबार ११:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकोणात्मक प्रेम कथामा तयार हुने सिनेमा ‘सम्हालिन्छ कहिले मन’ को छायांकन सुरु भएको छ । केही दिन अघि मात्रै सिनेमाको छायांकनको लागि लण्डन उडेको ‘सम्हालिन्छ कहिले मन’को टिमले आइतबार पूजाआजा गरी लण्डनमा सिनेमाको छायांकन सुरु गरेको हो ।

छायांकको पहिलो दिनमा सिनेमाका मुख्य दुई कलाकार पूजा शर्मा र सोनम थोप्देनले सर्ट दिएका थिए । 

झण्डै ५० दिनको छायांकन सेड्यूलको साथमा लण्डन पुगेको ‘सम्हालिन्छ कहिले मन’को टिमले लण्डनसँगै स्कटल्याण्ड, वेल्समा पनि छायांकन गर्नेछ । लण्डन पछि सिनेमाको छायांकन नेपालको मुस्ताङमा हुनेछ । 

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमामा पूजा र सोनमका अलावा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।  

अमित बस्नेतको लगानी रहेको यस सिनेमाका कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् । सिनेमामा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया