आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

 माघ २९, २०७५ मंगलबार ६:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले खेलिरहेको क्लब युभेन्टसमा राम्सेले साताको चार लाख पाउण्ड पाउने गरी सम्झौता गरेका हुन् । 

२८ वर्षीय राम्सेले चार वर्षका लागि अनुबन्ध गरेका छन् । ११ वर्ष आर्सनलमा बिताएका राम्सेले युभेन्टसमा अनुबन्ध हुनका लागि दुई चरणको मेडिकल प्रशिक्षण पनि पार गरिसकेका छन् । राम्से युभेन्टसमा अनुबन्ध हुने पक्का भएसँगै सबै भन्दा धेरै पारिश्रमिक पाउने बेलायती खेलाडी बनेका छन् ।

वेल्सका अन्तर्राष्ट्रिय खेलाडी राम्सेलाई समग्रमा कतिमा अनुबन्ध गरेको भनेर प्रष्ट खुलाइएको छैन । सन् २००८ मा कार्डिफ सिटीबाट चार दशमलव आठ मिलियन पाउण्डमा अनुबन्ध भएका राम्से यसपटक सुरुवातमा बार्सिलोना जाने चर्चा पनि चलेको थियो भने फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनबाट पनि अफर आएका थियो ।

यस्तै बार्यन म्युनिख, इन्टर मिलान, रियल मड्रिडले पनि अनुबन्धकालागि इच्छा ब्यक्त गरेका थिए । स्पेनिस क्लबमा राम्सेलाई ल्याउन ग्यारेथ बेलले पनि पहल गरेका थिए । यो सेप्टेम्बर महिनामा आर्सनलले उनलाई नयाँ सम्झौताका लागि अफर गरे पनि उनले अस्वीकार गरेका थिए ।

राम्सेले आर्सनलबाट दुई सय ५९ खेलमा ६१ गोल गरेका छन् । ११ सिजन प्रिमियर लिगमा खेल्दा तीन सिजन डबल फिगरमा गोल गरेका थिए । जसमा सबै भन्दा धेरै १६ गोल २०१३ र १४ को सिजनमा गरेका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया