डीपीएल : सीवाईसी अत्तरियाको शानदार बलिङ र फिल्डिङ, धनगढी स्टार्स ५ रनले हार्‍यो

 माघ २९, २०७५ मंगलबार १३:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढी प्रिमियर लिगमा घरेलु टिम धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा धनगढी सीवाईसी अत्तरियासँग ५रनले पराजित हुन पुग्यो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । मध्यम सुरुवात गर्दै पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । तर सुविन्धु पाण्डे मात्र तीन रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो ।

त्यसको लगत्तै अर्का ओपनर जयकिशन कोल्सावाला व्यक्तिगत २१ रनमा आउट हुँदा अत्तरियाले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । कप्तान दिपेन्द्र ऐरी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी ११ रनमा पेभेलियन फर्किँदा अत्तरियाको स्कोर ४५ रन थियो । उसले स्कोरबोर्डमा अरु २० रन थप्दा थप दुई विकेट गुमायो । प्रेम तामाङ १२ रनमा आउट भए भने सन्दीप जोरा मात्र दुई रनमा पेभेलियन फर्किए । 

अत्तरियाका लागि सन्नी पटेलले अविजित ३५ रनको योगदान गरे । 

बलिङमा धनगढीका राहेन मुस्तफाले दुई तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले एक–एक विकेट लिए ।

जवाफमा धनगढी  स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदा ९० रनमा रोकियो ।

फितलो ब्याटिङ गरेको धनगढीले १० रन हुँदा पहिलो विकेट गुमायो भने ६५ रन बनाउँदा ६ विकेट खेर फाल्यो । उसका ओपनर सुनिल धमला चार रनमा आउट भए भने पहिलो खेलमा अर्धशतक बनाएका अमित श्रेष्ठले खाता खोल्न सकेनन् । त्यसपछि विदेशी खेलाडी रोहन मुस्तफा १८ रनमा पेभेलियन फर्किँदा पवन सर्राफले पनि खाता खोल्न सकेनन् । 

एकपछि अर्को विकेट गुमाएको धनगढीका कप्तान सोमपाल कामीपनि १० रनमा आउट हुँदा सन्दीप रजाइली मात्र ११ रनमा बाहिरीए । लगत्तै अमिर हायात पनि चार रनमा पेभेलियन फर्किएपछि धनगढीले ७० रनमा सात विकेट गुमायो । 

लगत्तै सौरभ खनाल पनि आउट हुँदा उसले उसले आठ विकेट गुमायो । अन्ततः धनगढी ९० रनमा रोकियो । 

अत्तरियाको जितको आधार उसको उत्कृष्ट बलिङ र फिल्डिङ बन्यो । बलिङमा भुवन कार्कीले चार तथा सन्नी पटेलले दुई विकेट लिए । भुवनले चार ओभरमा मात्र १० रन खर्चिएर चार विकेट लिएका हुन ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया