नागरिक लगानी कोषको मितव्ययिता अभियान : भत्ता काटियो, तेल कम दिने

 फागुन २, २०७५ बिहिबार १६:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक लगानी कोषले कार्य सञ्चालनमा मितव्ययिता अभियान सुरु गरेको छ । 

अभियानअन्तर्गत कोषले विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । यसभन्दा अघि सञ्चालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई सञ्चालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले कटौती गरिएको छ । 

त्यसैगरी गैर कार्यकारी सञ्चालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति÷उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको छ । यस्तै कोषले खर्चमा मितव्ययिता ल्याउन कोष सञ्चालक समितिका अध्यक्षले पाउने इन्धन सुविधामा प्रतिमहिना २ सय लिटरबाट कटौती गरी १ सय ७५ लिटर कायम गरेको छ ।  

कोषको कार्यलाई चुस्त र प्रभावकारी बनाउनका लागि कोषले सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताउनुभयो ।

सेवाग्राहीको समस्या समाधानको लागि हेल्प डेस्क, सोधपुछ कक्ष, सूचना कक्ष तथा सुझाव पेटिकाको व्यवस्था गरी प्राप्त गुनासो, सुझाव तथा जानकारीहरुलाई तत्काल समाधान गर्ने पहल सुरु गरेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया