आइसल्याण्ड र नाइजेरियाको खेलमा अर्जेन्टिनाको भाग्य

 असार ८, २०७५ शुक्रबार १४:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको ऐतिहासिक पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनालाई बराबरीमा रोकेर सनसनी मच्चाएको आइसल्याण्डले आज समूहको अर्को खेलमा अफ्रिकी प्रतिस्पर्धी नाइजेरियाको सामना गर्नेछ । विश्वकप खेल्ने सबैभन्दा सानो टोलीको महान खेल अर्जेन्टिनाविरुद्ध देखिसकिएको छ ।
 
रुसको भोल्गोग्राड एरिनामा नाइजेरियाविरुद्ध पनि उनीहरु त्यही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछन् । यता पहिलो अ‍ेलमा क्रोएसियासँग २–० ले हारेको नाइजेरियाका लागि भने यो खेल ‘गर या मर’को रुपमा छ ।
 
आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सनले भनिसकेका छन् कि आफ्नो टिमविरुद्धको आजको खेलमा नाइजेरियाली टोली अधिक आक्रामक हुनेछ ।
 
हलग्रिम्सनको टोलीले विश्वकपको इतिहासमै आफ्नो पहिलो खेलमा विश्व फुटबलको महारथी टोलीविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको थियो । अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।
 
यता नाइजेरियाले क्र्रोएसियाविरुद्ध बिर्सनलायक २–० को हार ब्यहोरेको थियो । त्यस खेलमा उसको प्रदर्शन पनि अपेक्षाकृत कमजोर देखिएको थियो ।
 
‘यो नाइजेरियाका लागि जित्नैपर्ने खेल हो, त्यसेले मनोवैज्ञानिक रुपमा केही अलग हुनेछ, उनीहरुलाई जित्नुछ ।’ हलग्रिम्सनले पत्रकारहरुसँग भनेका छन्, ‘यो समूहबाट नकआउटमा पुग्नेको छिनोफानो अन्तिम खेलको अन्तिम मिनेटमामात्र हुनेछ । किनभने परिस्थितिहरु त्यसै अनुसार अघि बढिरहेका छन् ।’
 
यता, नाइजेरिया पहिलो खेलमा पराजित भएपछि समूहका अन्य टोलीभन्दा उ एक स्टेप पछाडि छ । किलिङगार्डमा भएको पहिलो खेलमा क्रोएसियाविरुद्ध उसको अग्रपंक्ति प्रभावशाली देखिएको थिएन ।
 
‘हामी केन्द्रित छौँ, हामी तयार छौँ र हामी जित्न चाहन्छौँ ।’ नाइजेरियाका कप्तान तथा अनुभवी मिडफिल्डर जोन ओवी मिकेलले पत्रकारहरुसँग भने, ‘हामीलाई थाहा छ कि प्रतियोगितामा रहिराख्नका लागि हामीले आइसल्याण्डलाई हराउनै पर्नेछ । यसका लागि हामीले प्रशिक्षणमा हरसम्भव सबै तयारी गरेका छौँ ।’
 
मिकेलले बुझेका छन् कि क्रोएसियाविरुद्धको प्रदर्शनले उनीहरुको गौरवपूर्ण इतिहास कमजोर बनाइदिएको छ । विश्वकपमा उनीहरुको उपस्थिति यस्तो नतिजाका लागि थिएन ।
 
‘हामीले बुझेका छौँ कि नाइजेरियाली जनता कस्तो महसुस गरिरहेका थिए, र अहिले कस्तो महसुस गरिरहेका छन् । तर, हामी पक्कैपछि परेका छौँ, तर आइसल्याण्डविरुद्धको खेलका लागि हामी तयार छौँ’, उनले भने, ‘हाम्रो अहिलेको स्थितिका अनुसार हामीले आगामी दुवै खेलमा जित हासिल गर्नुको विकल्प छैन, किनभने हामी अझै पनि विश्वकपमा रहिरहन चाहन्छौँ ।’

समूह डीमा क्रोएसियाले ६ अंकसहित नकआउट चरणको यात्रा पक्का परेको छ । 

समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकविहीन छ । शुक्रबार नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविष्य निर्धारण गर्नेछ । त्यतिले मात्र पुग्दैन समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनैपर्छ ।

म्याच फ्याक्ट्स

– आइसल्याण्डले विश्वकपको आफ्नो एतिहासिक पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोक्यो । यसअघि डेब्यू विश्वकपको सुरुवाति २ खेलमा हार टार्ने टोली सेनेगल हो । उसले सन् २००२ मा यो उपब्धि हासिल गरेको थियो । त्यस्ते क्रोएसियाले पनि सन् १९९८ मा यस्तै प्रदर्शन गरेको थियो ।
 
– नाइजेरियाले विश्वकपको आफ्नो पछिल्ला १३ खेलमा एउटामा मात्र जित हासिल गरेको छ । ३ बराबरी र ९ हार समावेश छ । एउटै मात्र जित उसले सन् २०१४ मा बोस्निया हर्जगोभिनाविरुद्ध निकालेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया