सीप सिके युवा विदेशिनु पर्दैन

 असार ८, २०७५ शुक्रबार १४:३८:१३ | रासस

चितवन – आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने उदाहरण यहाँका एक युवाले दिएका छन् । दुई वर्ष कतार बसेर आठ वर्षअघि नेपाल फर्किएका पश्चिम चितवनको पार्वतीपुरका रामप्रसाद सिग्देल सीप सिकेर स्वरोजगार हुनुभएको छ । उहाँले आठ जनालाई रोजगारी पनि दिनुभएको छ । 

कतारको बसाईपछि उहाँ विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गर्न सकिन्छ भन्ने लागेपछि उहाँ घर फर्किनुभएको थियो । सिग्देल भन्नुहुन्छ ‘साधारण तालिम यहीँ लिएँ अनि डिप्लोमा स्तरको तालिम काठमाडौँमा लिएँ ।’

तालिमपछि घर फर्किएर उहाँले व्यवसाय सुरु गर्नुभयो । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उहाँले शुरु गर्नुभयो । उहाँकी श्रीमतीले पनि ब्युटिपार्लरको तालिम लिनुभएको थियो त्यसैले श्रीमतीले पनि ब्युटिपार्लर सुरु गर्नुभयो । झण्डै तीन लाख रुपैयाँ लगानी गरेको सैलुनबाट उहाँहरुले एक महिनामा एक लाख रुपैयाँसम्म बचाउन थाल्नुभयो । 

पाँच वर्षपछि अहिले उहाँले सैलुनलाई बढाउनुभएको छ । लगानीसँगै कमाई पनि बढेपछि सिग्देल खुशी हुँदै भन्नुहुन्छ ‘सजावटमा मात्र २० लाख खर्च गरेको छु । लगानीसँगै कमाई पनि बढेको छ । म खुशी नै छु ।’ 

व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया