सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष : नाम र राजधानी टुंगो लाग्यो, अरु काम अलपत्र

 फागुन ५, २०७५ आइतबार १२:१०:२ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश सरकारको एक वर्षे कार्यकाललाई सबैले आ–आफ्नै ढंगले मूल्यांकन गरेका छन् । प्रतिपक्ष दलले व्यक्तिगत र पार्टीगत स्वार्थका कारण नागरिकका अपेक्षाअनुसार प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य टेकबहादुर रैका भन्नुहुन्छ, ‘भाषण र मञ्चमा सरकार एकदमै अगाडि छ । तर काममा एकदम पछाडि छ ।’ उहाँले अगाडि थप्नुभयो, ‘छनौट भएका काम र योजनाहरु अहिलेसम्म  कार्यान्वयन भएका छैनन । चैत वैशाखमा काम गर्लान् भनेर कसरी विश्वास गर्ने ?’ 

एक वर्षको अवधिमा जति काम पाउनुपर्ने हो त्यति काम प्रदेश सभाले पनि नपाएको नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्लीराज पन्त बताउनुहुन्छ । ‘एक वर्षमा कम्तीमा ३०/३५ वटा विधेयक बनिसक्नुपर्ने हो । तर, अहिलेसम्म जम्मा १७ वटा विधेयक मात्र बनेका छन ।’ उहाँले भन्नुभयो, ‘नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्न पाएका छैनन् । चाहे विकासका कार्य हुन् अथवा अन्य कामहरु, प्रदेश सरकार नागरिकका पक्षमा काम गर्न असफल भएको छ ।’

मूल्यांकन गर्नका लागि प्रदेश सरकारले कुनै काम नै नगरेको अर्का प्रदेशसभा सदस्य तथा राष्टिय जनता पार्टीका नेता कृष्णबहादुर चौधरी बताउनुहुन्छ । ‘एक वर्षमा मूल्यांकन गर्नका लागि कुनै काम गरेको छैन प्रदेश सरकारले, अब बाँकी रहेका चार वर्ष पनि प्रदेश सरकारले केही गर्न सक्दैन भन्ने संकेत मिलेको छ’ उहाँले भन्नुभयो ।   

चालु आर्थिक वर्षको फागुन लागिसक्दासमेत विकास निर्माणका काम अघि बढाउन नसकेको प्रदेश सरकारले बर्खामा झनै काम गर्न नसक्ने उहाँ दावी गर्नुहुन्छ ।

तर, सत्तारुढ दलले भने प्रदेश सरकारको एक वर्षे कार्यकाल सफल रहेको दावी गरेका छन् । कर्मचारी अभावमा पनि प्रदेश सरकारले काम अघि बढाएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले बताउनुभयो । ‘निर्विरोध रुपमा प्रदेश राजधानीको स्थायी नाम र स्थान पायौं । साथै भौतिक संरचना निर्माण भए’ उहाँले भन्नुभयो, ‘एक वर्षमा यति हुनुलाई पनि प्रगतिकै रुपमा लिएका छौँ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि स्थायी राजधानी र नामको टुंगो लाग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकोले एक वर्षमा नागरिक निराश हुनु स्वभाविक भएको उहाँको भनाई छ ।

प्रदेश सरकारका उपलब्धि र आगामी योजना

प्रदेशसभाले १८ वटा कानुन पारित गरेको छ । १९ वटा कार्यविधि पनि पारित भएको छ । एक वर्षको अवधिमा यी सबै काम गर्नको लागि दलीय सहमति कायम गर्नु अर्को सफलता भएको सरकारका प्रवक्ता समेत रहका कानुनमन्त्री प्रकाशबहादुर शाहको भनाइ छ ।

संघियता आफूहरुका लागि नितान्त नयाँ विषय भएकोले एक वर्षे अवधिमा अनुभव संगाल्ने काम, भौतिक संरचनाहरु निर्माण र कर्मचारीको व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ । समयको चाप र नौलो अभ्यासकाबीच यति काम गर्नु सफलता नै भएको उहाँको दावी छ । उहाले भन्नुभयो, ‘राजनीतिमा भाषण र काम संगसंगै हुन्छ । प्रतिपक्षीको आलोचनालाई सकारात्मक रुपमा लिएका छौँ ।’

प्रदेश सरकारले नागरिकका लागि भनेरै विभिन्न योजनाहरु ल्याएको भए पनि कर्मचारीको समायोजन, संस्थागत संरचनाहरुको निर्माण गर्ने काममा ढिलाई भएका कारण जनअपेक्षा अनुसार काम गर्न ढिलो भएको उहाँको भनाइ छ । कतिपय रातो किताबमा भएका योजनाहरु सम्झौता सकेर, समिति गठन भइ निर्माणको चरणमा पुगेर सार्वजनिक ठेक्कापट्टा गर्ने काम पनि सुरु भैसकेको उहाँले बताउनुभयो । 

नागरिकको कुरा अर्कै

प्रदेश सरकारले काम राम्रो गरेको दावी गरे पनि नागरिक यो कुरा मान्न तयार छैनन् । कैलाली सुख्खडकी यशोदा वलीले प्रदेश सरकारको एक वर्षे कार्यकाल नागरिकका हितमा नरहेको बताउनुभयो । नागरिकको विश्वास जितेर आइसकेपछि जसरी सक्रिय भएर प्रदेश सरकार लाग्नुपर्ने हो त्यसरी नलागेको उहाँ बताउनुहुन्छ । ‘कुनै पनि ठाउँमा विकास भएको छैन, के काम गर्यो भन्नु हामीहरुले ?’ उहाँले निराश हुँदै भन्नुभयो, ‘निकै आशा गरेका थियौं हामीले प्रदेश सरकारसँग, विकासको । तर त्यस्तो केही परिवर्तन पाएनौँ ।’ 

धनगढी, हसनपुरकी सुस्मा जोशीको भनाइ पनि यस्तै छ ।  सरकारी कार्यालयमा जाँदा सेवाग्राहीले सहज रुपमा सेवा पाउने वातावरण बन्न नसकेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘एक वर्षे कार्यकालमा प्रदेश सरकारले नागरिकका पक्षमा शून्य काम गरेको छ ।’

बैतडी घर भएका टेकबहादुर कार्कीले पनि आफूहरुले प्रदेश सरकार भएको महसुस गर्न नसकेको बताउनुभयो । ‘चुनावका बेला यिनै नेताले भाषण गर्दै सबै बेरोजगारलाई रोजगारी दिने, विभिन्न कार्यक्रम ल्याउने आश्वासन दिए । तर अहिले गाउँमा केही परिवर्तन भएको छैन ।’ उहाँले दुःख ब्यक्त गर्दै भन्नुभयो, ‘सबै युवालाई गाउँघरमै स्वरोजगार बनाउँछु भन्थे नेताले, विदेश गएका छोरा अझै फर्कन सकेका छैनन् ।’

अर्का एक बृद्ध रामचन्द्र पाण्डेय प्रदेश सरकारको एक वर्षे कार्यकालमा असन्तुष्टि व्यक्त गर्दै भन्नुहुन्छ, ‘अहिले यी नेताहरुले चिल्लो गाडी र पक्की घरमा बसेर आफ्नो मात्रै विकास गरेका छन् ।’

नागरिकका आआफ्नै गुनासा र असन्तुष्टि रहे पनि प्रदेश सरकारले केही काम सुरु भएको र आउँदा दिनमा नागरिकले महसुस गर्नेगरी काम गर्ने दावी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म पनि न्यून बजेट खर्च गरेको छ । चालु वर्षको ६ महिनामा पूँजीगत तर्फका बजेट १.८८ प्रतिशत मात्रै खर्च भएको छ ।

अहिलेसम्म अख्तियारी पाएको ८ अर्ब ४१ करोड ६२ लाख पूँजीगत बजेटमध्ये १५ करोड ७८ लाख २० हजार मात्रै खर्च भएको छ भने चालु खर्च भने ११ प्रतिशत पुगेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया