समायाेजनकाे विरोधमा सामूहिक राजीनामा दिने सरकारी चिकित्सकहरुको चेतावनी

 फागुन ५, २०७५ आइतबार १४:१४:५० | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रममा विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

आफूहरुको मागलाई सम्बोधन नगरी प्रतिनिधिसभाबाट सो विधेयक पारित भएको भन्दै भोलि (सोमबार) देशभरका चिकित्सकहरुले सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन् ।

मंगलबार माइतीघर मण्डलामा आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताउनु भयो ।

बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपछि सरकारलाई बुझाउन काठमाण्डौमा भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन् ।

आफूहरुको वृत्ति विकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरुले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । अध्यक्ष पाण्डेले आफूहरुको आन्दोलनको सो कार्यक्रममा साथ र सहयोग गर्न पनि सबैलाई अपिल गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया