युएईमा दूतावासको सचेतना अभियान सकियो, कामदार भन्छन – ‘दूतावास कहाँ छ थाहा थिएन’

 असार ८, २०७५ शुक्रबार १७:२:६ | उमाकान्त पाण्डे

युएई – युएईमा रहेको नेपाली दूतावासले यो बर्ष कामदारहरु बस्ने क्याम्पमै गएर सचेतना जगाउने कार्यक्रम सकिएको छ । 

तीन महिनाअघि आबुधाबी नेशनल होटलमा कार्यरत नेपाली कामदारको क्याम्पबाट सुरु भएको अभियान बिहीवार दुवईको इजादा असिस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपालीका बिच पुगेर सकिएको हो ।

अभियानका क्रममा दूतावाससले युएईका नीतिनियम र यहाँ बसुन्जेल अपनाउनुपर्ने सावधानीका बिषयमा जानकारी गराएको थियो । यस्तै कामदारलाई समस्या परे कहाँ कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि जानकारी गराएको छ । अभियान अन्तर्गत विभिन्न कम्पनीका ६ वटा क्याम्पमा पुगेको दूतावासले जनाएको छ । 

कतिपय कम्पनीमा नेपालमा गरेको सम्झौअता अनुसारको सेवा सुविधा नपाएको भन्दै भन्दै कामदारले आन्दोलन गर्दा समस्या आउने गरेको पाइएको छ । तर धेरै जसो कामदारलाई दुतावास कहाँ छ भन्ने सम्मको जानकारी नभएको पाइएको दुतावासले जनाएको छ । ‘अझै पनि धेरै कामदार सम्म पुग्न सकेका रहनेछौं, क्याम्पसम्म पुग्ने अभियान आगामी दिनमा पनि गर्छौं’ कार्यबाहक राजदुत सागर प्रसाद फुंयालले भन्नुभयो । 

अझै पनि ८ घण्टा काम ८ सय तलब र ३ सय खानाका लागि दिने भनेर ल्याएपनि १२ घण्टा काम गराउने तर ओभरटाइम बापत थप तलब नदिने गरेको गुनासो कामदारले गरेका थिए । दूतावासले भने सुधारका प्रयास गरिरहेको जनाएको छ ।

दूतावासबाटै कामदार मागपत्र प्रमाणीकरण अनिवार्य गरिएपछि कम्पनीले सुधारका प्रयास गरेको कार्यबाहक राजदुत फुयाँलले बताउनुभयो  । 

 दूतावास कहाँ छ जानकारी छैन : कामदार 

 दूतावासले गरेका सचेतना कार्यक्रममा कामदारहरुले आफूहरुलाई दूतावास कहाँ छ भन्ने जानकारी नभएको बताएका थिए । ‘धेरै जसोलाई  दूतावास कहाँ छ ? समस्या परे कहाँ जाने भन्ने नै थाहा थिएन’ दुवईको क्लिन्को कम्पनीमा कार्यरत निर्मला भण्डारीले भन्नुभयो ।

दूतावासका प्रतिनिधिलाई भेटेपछि भने आफूले धेरै कुरा थाहा पाएको कामदारको भनाई छ । ‘तपाईंहरुलाई पर्ने समस्याका बारे हेर्न र बुझेर समाधान गर्न भन्दै सरकारले हामीलाई यहाँ पठाएको हो, दूतावासका प्रतिनिधिले भनेको कुरा सुनाउँदै झापाकी सुएसा राईले भन्नुभयो ‘समस्या पर्दा तुरुन्तै  दूतावासमा सम्पर्क गर्न भन्नुभएको छ ।’ 

यही कम्पनीमा कार्यरत खोटाङकी दिप्ती राइले भने आफूहरुले काम गरिरहेको ठाउँमा पहिलो पटक दूतावासका प्रतिनिधि आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Buddha b. Tamang

    June 22, 2018, 6:39 p.m.

    Prayas garekoma khushi lagyo

  •  0 Reply

तपाईको प्रतिक्रिया