‘लाहुरे’ हुने सपना त्यागेर लोक गायनमा जमेका रामजी खाँड भन्छन्, ‘लोक गीत मेरो आत्मा हो’

 फागुन ६, २०७५ सोमबार ९:५:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गोलो, गोरो मुहार । खाइलाग्दो ज्यान । मिठो बोलीचाली । नम्र स्वभाव । सबैसँग मिल्न सक्ने बानी । जति मिठो बोल्छन्, त्यसभन्दा ज्यादा उनी मिठो गीत गाउँछन् । उनी अर्थात् अहिलेका चर्चित लोक दोहोरी गायक रामजी खाँड ।

उनको ‘जादुमयी स्वर’ले भरिएका अधिकांश गीत सर्वाधिक लोकप्रिय छन् । उनी आम श्रोता÷दर्शकको मनमनमा भिजेका छन् । बसेका छन् । 

अहिलेसम्म उनले ७ हजार भन्दा धेरै लोक दोहोरी गीतमा आवाज भरेका छन् । कला–गलाकै कारण आज देश–विदेशमा परिचित छन् । अहिलेको रामजी खाँड हुनका लागि पहिलेका दिनहरुमा उनले धेरै मेहनत र संघर्ष गरेका छन् । 

स्याङ्जा जिल्लामा जन्मिएका खाँडको सानैदेखि गायनमा रुची थियो । ७/८ कक्षामा पढ्दादेखि नै उनी गीत गुनगुनाउँथे । विद्यालय, वडा, गाविस, जिल्लास्तरका गायन प्रतियोगितामा भाग लिइरहन्थे । प्रतियोगितामा विजेता पनि बन्ने गरेका थिए उनी । 

चाहना ‘लाहुरे’ तर बने ‘गायक’

‘लाहुरे’ घरानाका खाँड । ‘छोरो पनि लाहुरे भइदियोस्’ भन्ने परिवारको चाहना थियो । सँगैका साथीभाई पनि लाहुेर भएको देख्दा उनको पनि मन लोभिएको थियो । लाहुरे बन्ने सपना पनि बुनेका थिए उनले । 

तर सानैबाट गीत गाउने उनको गायन प्रतिभाबाट धेरै प्रभावित थिए । धेरैले उनको स्वर र गायकीको चर्चा गर्थे । उनको गीत गाउने शैलीको पनि खुब प्रसंसा गर्थे । सबैबाट पाएको माया नै लोक गीत÷संगीतमा लाग्ने प्रेरणा बन्यो उनका लागि ।

‘पारिवारिक वातावरण पनि लाहुरे । संगैका साथीभाई पनि लाहुरे बने । मेरो मनमा पनि लाहुरे हुने सोच चाहिँ थियो,’ उनले त्यतिबेलालाई सम्झदैँ भने ‘तर सबैको मायाले मलाई लोक गीत÷संगीतमा डोर्‍यायो ।’

धमाधम गीत हिट

उनले लोक गीत/संगीतका क्षेत्रमा झण्डै दुई दशक बिताएका छन् । उनको गायन यात्रा २०५६ सालबाट सुरु भएको हो । उनले गाएको पहिलो गीत हो, ‘वालिङ बजार......’।

तर उनी आम स्रोता/दर्शकमाझ भने २०६२/०६३ तिर मात्रै चिनिए । पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसललगायतका गीत गाएपछि उनी आमश्रोता/दर्शकमाझ चिनिए । त्यसपछि, उनले गायन क्षेत्रमा पछाडि फर्कनु परेन । 

धमाधम उनले गाएका गीत ‘हिट’ हुन थाले । त्यसपछि, देश–विदेशमा हुने विभिन्न कार्यक्रममा उनको माग ह्वात्तै बढ्यो । ‘स्टुडियो’मा पनि उनको व्यस्तता बढ्न थाल्यो । आज पनि उनी ‘स्टुडियो’सँगै देश–विदेशमा हुने ‘स्टेज’ कार्यक्रममा व्यस्त भइरहने गायकमा पर्छन् । 

पहिलो विदेश यात्रा अविस्मरणीय 

विदेशमा पहिलोचोटी उनले ‘हङकङ’मा आफ्नो सांगितिक प्रस्तुती दिएका थिए । पहिलोपटक विदेशमा आफ्नो प्रस्तुती राख्न पाउँदाको क्षण आज पनि उनलाई प्यारो लाग्छ । भुल्न सक्दैनन् आज पनि त्यो पल उनी । ‘विदेशको हकमा मैले सबैभन्दा पहिले हङकङमा आफ्नो प्रस्तुती राख्ने मौका पाएको थिएँ । त्यसपल म निकै ‘एक्साइटेड’ भएको थिएँ,’ उनले खुसी साटे ।

आजसम्म उनले दुई दर्जन बढी देशमा पुगेर आफ्नो सांगितिक प्रस्तुती दिइसकेका छन् । उनले संसारका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीमाझ पुगेर पनि नेपाली लोक गीत गाएका छन् । धेरैलाई नचाएका छन् । गीत÷संगीतबाटै धेरैलाई खुसी पारेका छन् । 

माया, प्रेम, मिलन, विछोड, मेलापात, उकाली–ओरालीका भाव, भोगाई समेटिएका गीतमा उनले स्वर भरेका छन् । ‘म सबैखाले गीत गाउन सक्छु । तर मलाई लोक गीत गाउन नै मन पर्छ । लोक गीत/संगीत मेरो आत्मा हो । यसलाई छोडेर म अन्त कतै जान सक्दिन,’ उनले मौलिक लोक गीत/संगीतप्रतिको माया दर्शाए । 

क्षमता बुझेर मेहनत गर्न सके टिक्न अनि बिक्न सकिन्छ 

गीत/संगीतमै लागेर आफूले सजिलै परिवार पालेको उनी बताउँछन् । ‘मैले यसै क्षेत्रबाट जीवन चलाएको छु । हिजोका दिनमा गीत गाएरै बाँच्न गाह्रो थियो । अहिले पनि यस क्षेत्रमा संघर्षरत व्यक्तिलाई त गाह्रै छ,’ उनी थप्छन्, ‘तर मेहनत गरी आएमा, गीत/संगीत क्षेत्रमा राम्रो गर्न सकेमा यसैबाट सजिलै जीवन चलाउन सकिन्छ ।’ 

नाम, दाम दुवै हुने भएकाले पनि पछिल्लो समय गीत/संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरुको संख्या बढ्दो छ । ‘राम्रो सिर्जना गर्न सके, मेहनत गरी जन–जनको मन छुने खालका गीत गाउन सके यस क्षेत्रमा लागेर सजिलै बाँच्न सकिन्छ,’ गायक खाँड भन्छन् । 

आफ्नो क्षमता बुझेर, मेहनत गर्ने आँटका साथ आएमा यस क्षेत्रमा टिक्न अनि बिक्न सकिने उनी बताउँछन् । ‘शब्द लेखन, संगीत, गायकी, नृत्यमध्ये आफू कुन पाटोमा बलियो छु भन्ने लाग्छ । पहिले त्यो कुरा कुरा बुझेर मेहनतका साथ लागेमा यस क्षेत्रमा रम्न सकिन्छ । टिक्न र बिक्न सकिन्छ,’ उनी भन्छन् । उनले गाएका पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, दामी देखिन्छ, फूल फुलेर, चिनो हरायो, जाम भन्यो लाहुरले, धुँवासरी लगायतका दर्जनौँ गीत चर्चित छन् ।

गायककै रुपमा चिनिन चाहन्छु

आफूले गाएका कतिपय गीतको ‘म्युजिक भिडियो’मा उनी आफैँ पनि कम्मर मर्काउँछन् । तर उनलाई आफू मोडलको रुपमा भन्दा पनि लोक दोहोरी गायकको रुपमा चिनिन पाउँदा खुशी मिल्छ ।

उनी भन्छन्, ‘म लोक दोहोरी गायक हुँ । म आफूलाई मोडलको रुपमा भन्दा पनि लोक दोहोरी गायकको रुपमा चिनिन पाउँदा खुशी महसुस गर्छु ।’

लोक गीत/संगीत क्षेत्रमा लामो अनुभव बटुलेका गायक खाँडले अन्त्यमा भने, ‘गीत/संगीत भनेको समाज, समुदाय, परिवेशको प्रतिबिम्ब प्रस्तुत गर्ने माध्यम हो । यो सुख–दुःखको साथी पनि हो ।’
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया