मौसम : पुनः वर्षा र हिमपातको सम्भावना

 फागुन ६, २०७५ सोमबार ९:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्ष लगातार रुपमा आइरहेको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भैरहेको छ । पश्चिमी वायु एकपछि अर्को लगातार रुपमा भित्रिइरहँदा निरन्तर लामो समयसम्म घाम लाग्न सकेको छैन । गएको बिहीबार भित्रिएको पश्चिमी वायु आइतबारदेखि बाहिरिएको छ । 

फेरि सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिम, पूर्व र मध्य भूभागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिएको हो ।’ महाशाखाकी मौसमविद् मञ्जु वासीले भन्नुभयो, ‘सोमबार राति पश्चिमका केही ठाउँमा ठूलै पानी पर्ने सम्भावना रहेको छ ।’ काठमाण्डौ उपत्यकामा भने सोमबार घाम लाग्ने मौसमविद बासीको अनुमान छ ।

उहाँका अनुसार मंगलबार र बुधबार पनि देशका केही ठाउँमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको छ । यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । 

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ । निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । यसैको प्रभावले  उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने गर्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया