धनगढीकाे त्रिनगर नाकामा नागरिक सहायता कक्ष

 फागुन ६, २०७५ सोमबार २०:२५:५९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीको त्रिनगर नाकामा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । 

सुदूरपश्चिम प्रदेश गठन भएको केही महिनामा भारतसँग जोडिएका सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रदेश सरकारले बताए पनि त्यो काम १ वर्ष पछि मात्रै सम्पन भएको छ । 

प्रदेश सरकारले गठन भएको एक वर्ष पुगेको अवसरमा सहायता कक्षको स्थापना गरेको हो । सहायता कक्षको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको छ । उहाँले  सहायता कक्ष स्थापना भएसँगै भारतबाट आउँदा र भारत जाँदा नेपालीले भोग्नुपर्ने सास्तीको अन्त्य हुने बताउनुभयो । 

मुख्यमन्त्री भट्टले आफू भारतमा रोजगारीका लागि गएका बेला सीमानाकामा दुःख पाएको स्मरण गर्दै त्यस्ता दुःख अन्त्यका लागि सक्दो पहल गरिरहेको बताउनुभयो । 

भारतमा रोजगारीका लागि गएका धेरै व्यक्ति अहिले सम्पर्कविहीन भएका कारण अब भारत जाने नागरिकको अभिलेख राख्न समेत नागरिक सहायता कक्षले सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले त्रिनगर नाकामा स्थापना भएको सहायता कक्षले भारत र नेपालको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन सहयोग मिल्ने बताउनुभयो ।

सहायता कक्षले भारतमा जाने नेपालीहरुको तथ्याङ्क संकलनका साथै मानव अधिकारको रक्षामा सहयोग पुग्ने मन्त्री शाहको भनाइ छ । अहिले सहायता कक्षको सामान्य रुपमा उद्घाटन गरिए पनि वैशाख १ गते देखि डिजिटल प्रणाली बाट सेवा सुरु गरिनेछ । 

सहायता कक्षले नागरिकलाई मात्रै सेवा प्रदान नगरी, सुरक्षा निकाय र भन्सार कर्मचारीलाई पनि सहयोग पुग्ने मन्त्री शाहले जानकारी दिनुभयो । 

पहिलो चरणमा कैलालीको त्रिनगरमा सहायता कक्ष स्थापना भएपनि दोस्रो चरणमा टीकापुर र कञ्चनपुरको गड्डाचौकी नाकामा सहायता कक्ष स्थापना हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया