हेल्लो मन्त्रीज्यू ! सडकका खाल्डा पुरेको खै त ?

मन्त्रीको हावादारी प्रतिबद्धता

 जेठ १, २०७५ मंगलबार ११:४१:३९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं, जेठ १ – गएको चैत ११ गते मुग्लिन–नारायणगढ सडक अवलोकनको क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भन्नुभएको थियो ‘वैशाख १५ गतेपछि देशका कुनै पनि सडकमा खाल्डा हुने छैनन्, सडकमा खाल्डा देखिए मलाई फोन गर्नु ।’ 

मन्त्रीको यो हावादारी प्रतिबद्धतालाई अहिले देशैभरीका सडकले कुरीकुरी गरिरहेका छन् । 

यो भाषण सुनेर धेरैले त पहिलेका मन्त्रीकै जस्ता सस्तो लोकप्रियता कमाउने कुरा भनेर महत्व दिएनन् । केहीले भने फोन नै गर्नुस् भनेपछि मन्त्रीले केही गलार्न कि भन्ने ठाने पनि । तर मन्त्री महासेठले पनि मुख मात्रै चलाउनुभएको रहेछ, कामको सिन्को भाँच्न सक्नुभएन भन्ने अहिले प्रमाणित भएको छ । देशभरीका सडक त के काठमाडौै्रकै अझ सिंहदरबार छेउछाउकै सडकमा गाडीका खाल्डा पुरिएका छैनन् । अरु सडकका दूर्दशाको त कुरा गरिसाध्यै छैन । 

काठमाडौंका सडक छेउका नागरिक भन्छन् ‘जिउँदै नरकमा पुगियो’

काठमाडौंका धेरै सडक अहिले हिँडिनसक्नु अवस्थामा छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले धेरैठाउँमा सडक खनेर छाडेको छ । कतैकतै टालटुलसम्म पारेका सडक पनि मेलम्ची खानेपानी आयोजनाले खनेर खाल्डैखाल्डा बनाएको छ । कतैकतै पिच गरिएपनि अहिले त्यो पिच पनि भासिएर सडक अग्लो होचो हुन थालेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको आवत–जावत हुने ठाउँमा भने रातारात काम गरेर भए पनि सडक चिल्याउने काम गरिएको छ । बाँकी ठाउँमा सडक भत्काएर छाड्ने तर वर्षौँसम्म नबन्ने गर्दा नागरिक हत्तुहैरान छन् । जति चिटिक्क परेर घरबाट निस्किए पनि कार्यालय पुग्दासम्म धुलोमैलो हुनुपर्ने अवस्था छ । सडकमा कहाँनेर खाल्डो छ भन्न् थाहा नहुँदा पानी परेका बेला दुर्घटनाको जोखिम बढेको छ । बाटो बन्दै गरेको ठाउँमा खतरको संकेतसमेत छैन । यस्तो विजोग हरेक सडकमा देख्न पाइन्छ । 

‘सरकारले हामीलाई किन यसरी नरकमा राखेको हो कुन्नि’ चापागाउँ दोबाटोमा कार्पेट पसल गर्ने काभ्रेका दयाराम नेपालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यही बाटो विभिन्न पार्टीका नेता धुलो उडाउँदै हिड्छन्, तर यो बाटो कहिल्यै बनाएनन् ।’

‘नेताहरुले नागरिकका दुःख कहिल्यै देखेनन् त्यसैले हाम्रा लागि कुनै पनि नेता हाम्रा होइनन्’ नेपालले आक्रोस पोख्नुभयो । 

व्यापार नहुँदा पसले र होटलवाला हैरान

ललितपुरकै खुमलटार पुग्दा भरत गैरे मास्क लगाएर पसलका सामान धमाधम टक्टक्याउँदै हुनुहुन्थ्यो । सुरुमा त उहाँ बोल्नै मान्नुभएन । ‘ह्या कति जनासँग हाम्रो समस्या राख्नु ? नेतालाई कतिपल्ट भन्यौँ, पत्रकारलाई कतिपल्ट भन्यौँ, कराउँदा कराउँदा हाम्रो मुख सुकिसक्यो, यो बाटो बन्ने होइन’ गैरेले भन्नुभयो, ‘आज नयाँ सामान ल्याएर पसलमा राख्यो धुलोले भोलि पुरानो जस्तै हुन्छ, ग्राहकले किन्दैनन् ।’ 

सडकका कारण होटल नै छोड्ने अवस्थामा पुग्नुभएको छ, ललितपुर इमाडोलका जयमंगल चौधरी । सडकछेउमा सटर भाडामा लिएर होटल चलाइरहेका चौधरीले भन्नुभयो, ‘सानो पसल छ, सिसा लगाउँ गर्मीले हपहप बनाउँछ, सिसा खोलौँ धुलोले हैरान, ३ वर्षदेखिको समस्या जस्ताको त्यस्तै छ, अब त यो होटल छाड्ने सुरमा छु ।’

अन्तर निकाय समन्वय पटक्कै छैन, एउटाले बनाउने अर्कोले भत्काउने

काठमाडौं उपत्यकाका सडकको बेहाल अवस्थाबारे समाचार लेख्दालेख्दा पत्रकार र सञ्चारमाध्यम पनि आजित भइसके । सामाजिक सञ्जालमा पनि यसबारे धेरै कुरा नउठेका होइनन् । तर सरकारी निकायले सुनेको नसुन्यै गरिरहेको छ । 

घाम लाग्दा केही हेर्नै नसकिने गरि धुलो पानी पर्दा धान रोप्न ठिक्क परेको  खेत जस्तो हिलोले भरिने गरेका छन् काठमाडौका सडक । सडकमै भेल बग्नु त सामान्य जस्तै भै गयो ।

सडकको यो अवस्थाबारे सडक विभाग काठमाडौ र ललितपुर महानगरपालिकालाई देखाउँछन् । अनि महानगरपालिका सडक विस्तार आयोजनातिर औंला तेस्र्याउँछन् । अनि आयोजनाको कार्यालयले मेलम्ची खानेपानी र विद्युत प्राधिकरणका कारण सडक यस्तो भएको ओठे जवाफ दिन्छ । सडकको यो हालत सुधार्न भनेर धेरैपटक धेरैथरी निकायका पदाधिकारीका बैठक नभएका पनि होइनन तर परिणाम भने जस्ताको त्यस्तै छ ।

काठमाडौं उपत्यकाका मुख्यमुख्य सडकको निर्माण र मर्मतको जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको हो । आयोजनाले विभिन्न सडक मर्मतको काम सम्पन्न हुन नसक्नुको कारण सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा विवाद, विद्युत प्राधिकरण, मेलम्ची खानेपानी आयोजना र विभिन्न कम्पनीका तारका कारण सडक विस्तारमा अबरोध रहेको जनाएको छ ।

काठमाडौंमा सरकारी निकायबीच समन्वय नहुँदा सडक विस्तारमा बाधा नै बाधा छन् । विस्तार हुँदै गरेको मुख्य १० वटा सडकमा विजुलीका खम्बा, ट्रान्सफर्मर, टेलिफोनका तार, टेलिफोन क्याविनेट, रुख, घर टहरा, खानेपानीका ट्यांकी सडक निर्माणका मुख्य बाधा हुन् । मुख्य १० वटा सडकमा ४ हजारभन्दा धेरै यस्ता बाधा रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

दोष जसजसलाई लगाएपनि वा कारण जेसुकै भएपनि सडकमा धुलो र हिलो बन्द होस भन्ने नागरिकको चाहना हो । तर मन्त्री नै प्रभावकारी कामको साटो हावादारी गफमा केन्द्रित हुँदा अझै कति समय धुलो र हिलोको सास्ती ब्यहोर्नुपर्ने भन्ने टुंगो छैन । 

यो आर्थिक वर्षमा विस्तारको काम भइरहेका मुख्य सडकहरुः

   १. त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा (१२.४८ कि.मि.)
   २. चावहिल–जोरपाटी–साँखु (१२.५० कि.मि.)
   ३. सातदोबाटो–लगनखेल (०.८० कि.मि.)
   ४.इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु लामाटार सडक (७.२१५ कि.मि.)
   ५.ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङ्गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक (१३.०१ कि.मि.)
   ६. कर्मनाशा खोला–हरिसिद्धि–गोदावरीकुण्ड सडक (७.६० कि.मि.) 
   ७. जोरपाटी चोक–सुन्दरीजल (७.०० कि.मि.) 
   ८. नख्खु खोला–भैंसेपाटी–बुङ्गमती (५.०७ कि.मि.)
   ९. चक्रपथ–ज्ञानज्योती मार्ग–चुनदेबि–बिद्वत मार्ग (०.७५ कि.मि.)
   १०. पेप्सीकोला–सल्लाघारी सडक विस्तार (४.५० कि.मि.)

प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बन्दैनन् सडक

काठमाडौंलगायत देशैभरका सडकको विजोग भएपछि गएको फागुन २९ गते प्रधानमन्त्री कार्यालयमा सडकसँग सम्बन्धित सबै कार्यालयका जिम्मेवार व्यक्तिको छलफल भयो  । छलफलमा प्रधानमन्त्रीका तर्फबाट उहाँका प्रमुख राजनितिक सल्लाहका विष्णु रिमालले अब पुरानै शैलीबाट देश नचल्ने भन्दै सडक निर्माण र विस्तारबारे ‘कडा’ निर्देशन दिनुभयो ।  बैठक भइञ्जेल त सडकको अवस्था फेरिएला कि भन्ने थियो, तर बैठक सकिएपछि हाकिमका आफ्नै दावी र ढिपी छन् । सडकको बेहाल उस्ताको उस्तै छ ।

सडक बनाउन कयौंपल्ट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सडकसँग जोडिएका कार्यालयका हाकिमसहितका बैठक बसे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दियो, सडक विभागले अनुगमन गरेको नाटक गर्‍यो, तर अवस्था जस्ताको तस्तै छ ।

धेरै ठाउँमा सडक विस्तारका बारेमा अदालतमा मुद्दा परेको छ, तर मुद्दा नपरेका ठाउँमा पनि सडकको अवस्था बेहाल नै छ । धेरैठाउँमा स्थानीयबासिन्दाले धान रोपे, बाटो बन्द गरे तर पनि केही सीप लागेन ।

मान्छेले सुविधाका लागि प्रयोग गर्ने देशका धेरै ठाउँका सडक मान्छे मार्ने धराप जस्ता लाग्छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया