डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोलाई रोक्ला त दक्षिण कोरियाले ?

 असार ९, २०७५ शनिबार १२:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो खेलमा विश्व विजेता जर्मनीलाई पराजित गरी सनसनी मच्चाएको मेक्सिको शानदार लयमा छ । 

जर्मनीविरुद्ध आक्रामक खेलको नमुना प्रस्तुत गरेको मेक्सिको आज रोस्तोभ एरिनामा दक्षिण कोरियाविरुद्ध भिड्दा उच्च मनोबलमा हुनेछ । पहिलो खेलमा स्वीडेनसँग हारेको एसियाली महारथी कोरिया मेक्सिकोविरुद्धको खेलमा पहिलो जितको खोजीमा हुनेछ । यी दुईबीचको खेल नेपाली समयअनुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
 
दक्षिण कोरियाली मिडफिल्डर जङ वो योङका अनुसार विश्वकपको साविक विजेतालाई पहिलो खेलमै हराएको मेक्सिकोविरुद्ध आफ्नो टोली बढी आक्रामक हुनु जरुरी छ ।
 
विश्वकपको समूह एफमा आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० ले पराजित भएको दक्षिण कोरियाका लागि सकारात्मक नतिजा अत्यावश्यक छ । जोचिम लोको टोलीलाई हराएर विश्वकपमा आश्चर्यजनक प्रदर्शन गरी सहज स्थितिमा रहेको मेक्सिकोसँग कोरियाले आज खेल्दैछ ।
 
तर, योङका अनुसार रोस्तोभ एरिनामा आफूहरुविरुद्ध मेक्सिकोले काउन्टर एट्याकिङ रणनीति अपनाउने छैन । जहाँ जुहान कार्लोस ओसोरियोको टोली स्वभाविक रुपमा दावेदार हुनेछ ।
 
‘मेक्सिकोमा यस्ता द्रूत गतिका प्रतिभावान खेलाडी छन्, जसले एक–एक गरी विपक्षी डिफेण्डरलाई बिट गर्न सक्छन् ।’ मिडफिल्डर योङले भने, ‘जर्मनीविरुद्धको खेलको तुलनामा मेरो विचारमा मेक्सिकोले फरक रणनीतिमा खेल्नेछ, र हामी चाहिँ जर्मनीको स्टाइलमा खेल्नेछौँ ।’
 
‘तपाईँहरु पेपरमा दुई टिमको तुलना गर्न सक्नुहुन्छ, तर, हामी त्यो रिजल्ट ल्याउन प्रयासरत हुनेछौँ, जहाँ म्याचको भविश्यवाणी गलत ठहरियोस् । हामीले यस बारेमा सोचेका छैनौं कि हामी कम प्रतिभाशाली छौं, वा मेक्सिकोभन्दा हामी बलियो छौं । हामीले सिर्फ यो सोचेका छौं कि कसरी मेक्सिकोलाई उसको मौलिक स्टाइलमा फुटबल खेल्नबाट रोक्ने ।’
 
मेक्सिकोका प्रशिक्षक ओसोरियोले योङको अनुमानको पुष्टि गरेका छन् र आफ्नो खेलाडीलाई ठूलो प्रतियोगितामा स्तरीय प्रदर्शन गर्न निर्देशन दिइसकेका छन् । किनभने उनीहरुलाई अन्तिम १६ मा स्थान बनाउनु छ ।
 
‘मेक्सिकोलाई यो प्रमाणित गर्नु छ कि हामी विश्वकप उपाधिका लागि पहल गर्न सक्छौँ ।’ प्रशिक्षक ओसोरियोले भने, ‘जर्मनी र अन्य पावरहाउसको विरुद्धमा खेल्दा एउटा ठूलो अन्तर हुन्छ । हामी विपक्षीभन्दा बलियो छौँ भने हामी आफ्नै रणनीतिमा खेल्न सक्छौँ ।’

प्लेयर्स टु वाच 

हिर्विङ लोजानो –मेक्सिको
 
जर्मनीविरुद्धको जितमा एकमात्र गोलकर्ता । पीएसभीका सुपरस्टार लोजानोका लागि युरोपका हेवी वेट क्लवहरु हात धोएर पछि लागेका छन् । अझ, जर्मनीविरुद्धको शानदार जितमा गोल गर्न सफल भएपछि उनको माग र मूल्य दुवै बढेको छ ।
 
कोरियाविरुद्धको खेलमा पनि उनी घातक हुन सक्छन् । २२ वर्षीय यी विंगरले मेक्सिकोका लागि सन् २०१६ मा डेब्यू गरेयता २९ खेलमा ८ गोल गरेका छन् ।
 
की सुङ युङ – दक्षिण कोरिया
 
मेक्सिकोका प्रशिक्षक ओसोरियोले स्वान्सी सिटीका मिडफिल्डर युङलाई पहिचान गरिसकेका छन् र आफ्ना खेलाडीलाई आग्रह गरेका छन् कि २९ वर्षीय यी स्टारको प्रभाव कम गर्न बललाई मैदानको सेन्टरबाट बाइपास गरुन् ।
 
युङ दक्षिण कोरियाका अनुभवी खेलाडी पनि हुन् । सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता उनले १०३ क्यापमा १० गोल गरेका छन् । मध्यक्षेत्रबाट अग्रपंक्तिमा बल सप्लाई गर्न कोरियाली टिममा उनको मुख्य भूमिका मानिन्छ ।

म्याच फ्याक्ट्स

–मेक्सिकोले सन् २००२ यता कुनै पनि विश्वकपमा लगातार जित हासिल गर्न सकेको छैन । त्यसबेला उसले क्रोएसिया र इक्वेडरलाई हराएको थियो ।
 
– दक्षिण कोरिया विश्वकपको आफ्नो पछिल्लो १३ मध्ये १२ खेलमा स्पष्ट जित निकाल्न असफल छ ।
 
– मेक्सिकोका राफायल माक्वेज जर्मनीविरुद्धको खेलमा सब्स्टिच्यूटका रुपमा मैदान छिरेर लगातार पाँचवटा विश्वकप खेल्ने विश्वकै तेस्रो फुटबलर बनेका छन् । यसअघि यो सौभाग्य मेक्सिकोकै एन्टोनियो कार्वाजल र जर्मनीका जोथर म्याट्हाउसले पाएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया