पैसाकै लागि विदेश नजाऔं

 असार ९, २०७५ शनिबार १३:७:१३ | श्यामशितल परियार

लमजुङ – लमजुङको सुन्दरबजार – ६, ढाँडफेदीकुनाका श्रीकृष्ण घिमिरेनेपाली सेनाका ‘रिटायर्ड’ । १७ वर्षको जागिरे जीवन सक्कियो । तर श्रीकृष्णको जाँगर सेनामा हुँदाको भन्दा फरक छैन । 

मेहनत, लगन र परिश्रमको महत्व उहाँले सेनाको जागिर खाँदै बुझ्नुभयो ।  सरकारी जागिर खानुभन्दा पहिले देखी नै उहाँको मनमा एउटै कुराले राज गरेको थियो, गाउँघरकै माटोमा कृषि उद्यम गर्ने । 

जागिरबाट अवकाश पाएपछि उहाँ त्यही सोच पुरा गर्नेतिर लाग्नुभयो । सेनाको जागिरबाट अवकाश लिएपछि केही ठाउँमा काम पनि गर्नुभयो तर कृषि पेशा नै गर्छु भन्ने सोच मनबाट हटेको थिएन ।

त्यसैले बर्खे र चैते धान लगाउँदै आएको ५ रोपनी निबोटेफाँटमा श्रीकृष्णले माछा पाल्न थाल्नुभयो । त्यो पनि व्यवसायिक रुपमा । ‘माछापालनमा पहिलेदेखि नै रुचि थियो, जागिरबाट अवकाश लिएपछि माछापालन गर्छु भन्ने सोचेको थिएँ ’ उहाँले भन्नुभयो, ‘ त्यसका लागि चाहिने सीप सिकेर काम थालेको हुँ ।’

उहाँले माछापालन व्यावसाय सुरु गर्नुअघि चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रबाट माछापालनमा सम्बन्धी तालिम लिनुभयो ।  घिमिरेले २०७४ सालमा घिमिरे एकीकृत कृषि फर्म दर्ता गर्नुभएको हो । उहाँले माछापालनसँगै केरा र तरकारी खेती पनि गर्नुभएको छ । अनि कुखुरा र हाँसपनि पाल्नुभएको छ । उहाँको फर्ममा एक जनाले रोजगारी पाएका छन् । 

५ लाख रुपैयाँ लगानीबाट कृषि फर्म सुरु गरेका घिमिरेले फर्मलाई बिस्तार गरेर १५ लाखसम्म लगानी गर्ने योजना बनाउनुभएको छ । जागिरपछि कृषि पेशामा होमिएका घिमिरेलाई श्रीमती चन्द्रकला घिमिरेको पनि उत्तिकै सहयोग छ । श्रीमानकै साथमा बसेर सुखदुःख बाँड्दै देशकै माटोमा उद्यम गर्न पाउँदा चन्द्रकला पनि दंगै हुनुहुन्छ ।

‘१७ वर्ष आर्मीमा जागिर खानुभयो, मैले त यो काम नगरौं भनेको थिएँ उहाँ मान्नुभएन । त्यसैले परिवारमा छोराबुहारी छोरीसंग सल्लाह गरेर काम थाल्यौं,’ टनेलमा खुर्सानी गोड्दै गरेकी चन्द्रकलाले भन्नुभयो, ‘अहिले त मलाई नि आनन्द आउँछ, फर्ममा माछा बारीमा हरियो सागपात देख्दा । परिवार सबै सँगै बस्न पाउनु खुशीकै कुरा हो नी । यसको आनन्द नै बेग्लै छ ।’

घिमिरे दम्पत्तिका ३ जना छोराछोरी । जेठो छोरा ईन्जिनियर छन् । उनी गोरखामा एउटा गैरसरकारी संस्थामा काम गर्छन्। जेठी छोरीको बिहे भइसक्यो । कान्छी छोरी पढ्दैछिन् । 

घिमिरे दम्पत्तिले ५ रोपनी जग्गामातीन वटा पोखरी बनाउनुभएको छ । २ वटा पोखरी ४ हजार माछा अट्ने क्षमताका छन भने एउटा पोखरीमा ६ हजार माछा पाल्न सकिने घिमिरेले बताउनुभयो । 

३ वटा पोखरीमा अहिले माछाका १२ हजार भुरा हुर्किंदैछन् । ४ हजार त बेच्नका लागि तयार पनि भइसकेका छन् । घिमिरेको खेतकै आडबाट कुमाल खोला बग्छ । त्यसैले उहाँलाई पानीको कुनै समस्या छैन । आफूले उत्पादन गरेका माछा उहाँले सुन्दरबजार, फेदीकुना, भोटेओडारका बजारमा बेच्नुहुन्छ । 

‘माछा नबिक्ला भन्नु पर्दैन, त्यो स्थानीय बजारमै बिक्री,’ माछालाई दाना हाल्दै घिमिरेले खुशी सुनाउनुभयो । घिमिरे जस्तै सेनाका पूर्व जागिरेहरु विदेश गएको उहाँले सुन्नु र देख्नु पनि भएको छ । तर उहाँलाई पैसा कमाउनकै लागि विदेश जानु पर्दैन भन्ने लाग्छ ।

कृष्णसँग श्रीमती चन्द्रकलाको पनि विचार मिल्छ । त्यसैले दुवै जना एकै स्वरमा भन्नुहुन्छ ‘गर्न खोज्नेलाई गाउँघरकै पाखापखेरीमा पैसा छ, पैसाकै लागि मुग्लान नजाऔं ।’ श्रीमतीसँगैका कुरा सक्किएपछि श्रीकृष्णले थप्नुभयो ‘गर्न चाहेमा गाउँमै सुन फलाउन सकिन्छ भनेको सुनेको थिएँ हो रैछ ।’  

अन्तिम अपडेट: चैत १, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया