दश वर्षभित्र दश हजार युवा उद्यमी

 असार ९, २०७५ शनिबार १४:५:५ | रासस

काठमाडौं – आगामी दश वर्षमा १० हजार युवालाई उद्यमी बनाउन अभियान शुरु भएको छ ।  गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गत रहेको नेपाल उद्यमशील समाजले ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी अभियान थालेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनुभयो । आफू उद्योगमन्त्री हुँदा उद्योगका लागि आवश्यक नीति नियममा विशेष ध्यान दिइएको भन्दै उहाँले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रको हौसला बढाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीले युवाको नयाँ सोचलाई व्यावहारिक रुप दिन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पढाइ सकेपछि जागिर खोज्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणका लागि सरकारले निजी क्षेत्रको हौसला बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरबाट छानिएका २३ युवा उद्यमीको नयाँ व्यावसायिक परियोजना प्रस्तावमाथि छलफल भएको थियो ।

सम्मेलनमा युवा उद्यमीको नयाँ परियोजनामाथि छलफल गरेर उद्यम गर्न लगानी जुटाउने योजना रहेको नेपाल उद्यमशील समाजका संयोजक जिडी पाण्डेले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया