नारी स्वरको स्तुति गर्दै सुरु भयो ‘पलेँटी’

 फागुन ११, २०७५ शनिबार १२:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेलवादेवीदेखि सुरु भएको नेपाली संगीतमा नारी स्वरको स्तुति गर्दै ‘पलेँटी’को पुनर्उदय भएको छ ।

आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केही समय स्थगित थियो । अब भने यसलाई विषयगत रुपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन् ।

त्यसै सिलसिलामा पहिलो प्रस्तुति नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबारदेखि थालनी भएको छ । पछिल्लो समयकी गायिका मीनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा यो कार्यक्रम चलेको थियो।

कार्यक्रमको सुरुवात मेलवादेवीकै ‘न घरलाई घर कहिन्छ’बाट सुरु भएको थियो । शहीद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउँदै कार्यक्रमलाई अघि बढाएका थिए । 

उनले थालनी गरे कोइलीदेवीबाट । रेडियो नेपालमा भेटिएकी कोइलीदेवी पनि मेलवादेवीजस्तै राणाकालको दरबारमै हुर्किएकी अर्की गायिका थिइन् ।

‘कोइलीदेवीलाई भेट्नु एउटा कालखण्डकै प्रतिनिधि देख्नु थियो’, आभाषले भने, ‘मेलवादेवी जत्तिको शास्त्रीय वा आधुनिक दुवै नभए पनि उनको खिरिलो आवाजले निकै प्रभाव विस्तार गरेको थियो ।’ त्यसपछि कोइलीदेवीले गाएको ‘सम्झिरहन्छु निसदिन केवल हजुरलाई’ सुनाइएको थियो ।

जब तारादेवीको प्रसंग सुरु भयो, तब गाइयो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीतमा ‘फूलको थुँगा बहेर गयो’।

त्यसपछि प्रस्तुति दार्जीलिङतर्फ मोडिएर जसै अरुणा लामा (सबैले भन्थे लयालु फूल भइ), शान्ति ठटाल (सम्हालेर राख), डेजी बराइली (एउटा खुला किताब हूँ म) र दावा ग्याल्मो (शहरभित्र केको हल्ला) तर्फ प्रवेश ग¥यो । उसैगरी नेपाली संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनका योगदानहरुको चर्चा पनि सुरु भएको थियो ।

प्रसंग फेरि काठमाण्डौ भित्रिएपछि गौरी केसीको ‘रानीतलाउ किनारा’, तारा थापाको ‘तारी न देऊ हे माझीदाइ’ र मिरा राणाको ‘मखमली चोलो’हुँदै अघि बढेको थियो ।

हिरादेवी वाइवाको ‘फरिया ल्याइदेका त्यै पनि राता धनन’ प्रस्तुत गर्नेबेलामा भने पलेँटीका निम्तिउनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित घरमै आगलागीमा परेर उनको निधन भएको चर्चासँगै माहोल भावुक बन्न पुगेको थियो ।

‘मेलवादेवी र हिरादेवीजस्ता गायिकालाई आगोले पोलिरहेको बेला बचाउने पनि कोही भइदिएनन्’, आभाषले अवरुद्ध हुँदै भनेका थिए, ‘जलिरहेको बेला हिरादेवीले रातै सारी पो लगाएकी थिइन् कि भनेर अहिले पनि झस्किरहन्छु ।’

कार्यक्रमले त्यसपछि पछिल्लो कालखण्डमा प्रवेश गर्दै मञ्जुलको रचनामा गाउने सुनिता सुब्बाको ‘चिरबिर गर्ने चरी’ सुनाएको थियो । कार्यक्रममा उल्लेख गरिएकामध्ये गायिकाहरु सुनिता सुब्बा, कुन्ती मोक्तान र संगीता प्रधानको उपस्थिति पनि रहेको थियो ।

नेपाली गीत गाउने भारतीय गायिकाहरु लता मंगेशकर (आकाशमा तिरमिरे तारा) र उषा मंगेशकर (वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर)को सम्झना पनि कार्यक्रममा गरिएको थियो ।

प्रस्तोता मीनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि अन्त्य भने फेरि मेलवादेवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो ।

‘हाम्रो परिवेशले नारी स्वरहरुलाई लामो साधनामा अघि बढ्न नदिइरहेको यथार्थका बीच उनीहरुको यसरी सम्झना गरिनु राम्रो लाग्यो’, कार्यक्रम हेरेपछि राजनीतिज्ञ एवं लेखक रघुजी पन्तको प्रतिक्रिया थियो, ‘व्यवस्थित प्रस्तुति र सुमधुर गीतहरुको मिठो समागम पाएँ ।’

पलेँटीको यो क्रम शनिबार र आइतबार पनि चल्नेछ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया