भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन : कांग्रेस नेता पौडेल

 फागुन ११, २०७५ शनिबार १७:४५:५४ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारकाे जगमा खडा भएकाे आराेप लगाउनुभएकाे छ ।

शनिबार सिन्धुली जिल्लाको ऐतिहासिक सिन्धुलीगढी हेर्न आउनुभएका नेता पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रममा भन्नुभयो, ‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौँ, आधारशिला खडा गर्‍यौं भन्नुहुन्छ । तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ नेता पौडेलले भन्नुभयो, ‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन ।’ 

विकास निर्माणका लागि अहिले देशमा चारैतर्फबाट सहज वातावरण तयार भएको भन्दै उहाँले यो मौकालाई सरकारले सदुपयोग गर्न नसकेको बताउनुभयो । सरकारले बिकेन्द्रिकरण भन्दा पनि केन्द्रिकरणतर्फ हरेक कदम चाल्दै गएको उहाँले आरोप लगाउनुभयो ।

उहाँले सिन्धुलीगढीलाई ऐतिहासिक ठाउँ भएको बताउदै यहाँ आउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । आउने दिनहरुमा पार्टी बलियो बनाउन कार्यकर्ताहरुले लागिपर्नुपर्ने भन्दै आगामी चुनावमा कांग्रेसलाई जिताउने गरी सङगठनमा लाग्न समेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । 

यस्तै उहाँले विकासका लागि आफ्ना एजेण्डालाई टुक्रिन नदिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मैले ५६ एजेण्डा लेखेर केन्द्रीय समितिमा बुझाएको छु । त्यसलाई आगामी केन्द्रीय समितिको बैठकबाट पारित गर्ने प्रयास गर्नेछु ।’

अन्तिम अपडेट: चैत ११, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया