देवचुलीमा सार्वजनिक जग्गा अतिक्रमण गरी पार्क र रिसोर्ट निर्माण

 फागुन १४, २०७५ मंगलबार १४:३०:३६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुलीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेको पाइएको छ ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने नारायणी नदी किनारको क्षेत्रमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी पार्क र रिसोर्ट सञ्चालन गरिएको पाइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी मेगा पिकनिक पार्क सञ्चालन गरिएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर १ र १७ अन्र्तगत निर्माणाधीन अवस्थामा रहेको मेगा पार्कले झण्डै १० बिगाहा क्षेत्रफल बराबर सार्वजनिक जग्गा अतिक्रमण गरी संरचनाहरु निर्माण गरिएको स्थानीयको आरोप रहेको छ ।

सिद्ध कुमार एण्ड सन्स कम्पनीको नाममा निर्माणाधीन अवस्थामा रहेको उक्त पार्कले  देवचुलीको मुकुण्डे खोला र नारायणी नदी किनारको सार्वजनिक जग्गा अतिक्रमण गरेको जनाइएको छ ।  पार्क सञ्चालनमा आएपछि  शान्ति सिर्जना युवा क्लबले वर्षौंबाट प्रयोग गर्दै आइरहेको दिव्यपुरीको सबैभन्दा पुरानो खेल मैदानसमेत मासिएको छ ।

यहाँ फनपार्क र पिकनिक स्पट सञ्चालनमा आइसकेको छ भने  भव्य रिर्सोट र एक हजार जना अट्ने सभाहल निर्माणाधीन अवस्थामा छ । अन्य विभिन्न संरचनासमेत बनिरहेका छन ।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेको विषयमा अख्तियारमा समेत उजुरी समेत परेको छ । अख्तियारबाट नगरपालिकालाई यस विषयमा पत्रसमेत काटिएको छ । 

अख्तियारबाट पत्र आएको र स्थानीयबाट समेत विरोध आएपछि देवचुली नगरपालिकाले  पार्क सञ्चालकलाई संरचना निर्माण रोक्न पटक–पटक ताकेता गरे पनि अटेर गरेको नगर प्रमुख पूणकुमार श्रेष्ठको भनाइ छ ।

पार्क निर्माण भइरहेको स्थानमा के कति  जग्गा छ भन्ने समेत यकिन हुन नसक्दा समस्या भएको श्रेष्ठले बताउनुभयो  । नारायणी नदी किनार भएको र नदीले कटान गरेको जग्गासमेत पार्क सञ्चालकको नाममा रहेकाले अहिले त्यस स्थानमा सञ्चालकको जग्गा के कति छ र सार्वजनिक जग्गा कति छ भनेर यकिन गर्न नाप नक्सा गर्ने काम नगरपालिकाका इञ्जिनियरबाट भैरहेको उहाँले बताउनुभयो ।

उहाँका  अनुसार पार्क सञ्चालनका लागि नगरपालिकाबाट अनुमतिसमेत लिइएको छैन । साविकको रजहर गाविस हुँदा एकतले घर भनी दर्ता गरेर सामान्य रेष्टुरेष्ट सञ्चालन गरेको तर अहिले ठूलो रिसोर्ट र पिकनिक पार्क संचालन गरेको नगरपालिकाले जनाएको छ  ।

नगरपालिकाकी उपमेयर पार्वता तिवारीले नगरपालिकासहित विभिन्न निकायले पत्र काटेर संरचना निर्माण नगर्नभन्दा समेत अटेर गरेको बताउनुभयो ।

रिसोर्ट र पार्क सञ्चालनका लागि निर्माण भइरहेको भवनसमेत मापदण्ड विपरीत रहेको र एकतले घर भनी दर्ता गरेर तीन तलासम्म निमार्ण गरेको र नारायणी नदी किनारमै घरटहरा निर्माण गरिएको उपमेयर तिवारीले बताउनुभयो । 

नदी किनारमा मापदण्ड विपरीत संरचनाहरु निर्माण गर्दा भोलि कुनै विपद आउन सक्नेतर्फ समेत सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सार्वजनिक जग्गामा निर्माणाधीन अवस्थामा रहेको संरचना निर्माणमा रोक लगाउँदासमेत अटेर गरेपछि नगरपालिका आफै अन्योलमा परेको छ । 

जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको तर अब सार्वजनिक जग्गामा निर्माण भएका संरचनाहरु कसरी हटाउने भन्ने बारेमा आफूहरु अन्योलमा रहेको  मेयर श्रेष्ठले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया