भारत पाकिस्तानबीच युद्ध भए नेपाललाई कस्तो प्रभाव पर्छ ?

 फागुन १४, २०७५ मंगलबार १९:१८:५९ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्ने संकेत देखिएको छ । 

जम्मू–कश्मीरमा फेब्रुअरी १४ मा ४२ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटमा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानसँग युद्ध नै सुरु गर्ने गरी अभिव्यक्ति दिँदै आएको छ । 

मंगलबार बिहान मात्रै भारतले जवाफस्वरुप भन्दै पाकिस्तानको भू–भागमा बम खसालेको दाबी गरेको छ । पाकिस्तानले भने भारतीय सैन्य विमानलाई आफ्नो भूमिबाट भगाउन सफल भएको बताएको छ । 

पाकिस्तानले सुरुमा आफूले हमला नगर्ने तर भारतले हमला सुरु गरे त्यसको गतिलो जवाफ दिने अभिव्यक्ति दिँदै आइरहेको छ । मंगलबार दिउँसो पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकपश्चात पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी सम्प्रभूतामाथि आक्रमण गरेको बताएका छन् ।

साथै उनले प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको जानकारी पनि दिएका छन् । यसले गर्दा दुवै देशबीच द्वन्द्वले उग्र रुप लिने संकेत देखाएको हो । दुवै देश टसको मस नहुँदा युद्धमा जान्छन् कि भन्ने डरले दक्षिण एसियालाई नै सशंकित बनाएको छ । 

तर नेपाली राजनीतिक विश्लेषक झलक सुवेदी भने दुवै देश अहिले नै युद्धमै गइहाल्ने अवस्था नरहेको बताउनुहुन्छ । ‘दुवै आणविक शक्तिसम्पन्न देश भएकाले एउटाले अर्कोलाई निषेध गरेर हिँड्ने अवस्था छैन । ठूलो युद्ध नै हुन्छ भन्ने देखिन्न’, उहाँले भन्नुभयो । 

चुनावी फण्डा

अहिले भारतमा लोकसभाको चुनाव नजिकिएको र त्यसैको फण्डास्वरुप मत आफूतर्फ ल्याउन पाकिस्तानसँगको सम्बन्धमा तनावपूर्ण अवस्था देखाइएको विश्लेषक सुवेदीले बताउनुभयो । 

विश्लेषक झलक सुवेदी‘चुनावमा कश्मीरको मुद्धा उठाउँदै भजाउने मोदीको कुटिल राजनीतिभन्दा माथि यो केही पनि होइन’, उहाँले भन्नुभयो, ‘यसअघि पनि यूपीको चुनावअघि सर्जिकल स्ट्राइक भनेर चर्चा गरिएकै थियो ।’  

अहिलेको तनावले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को भविष्य भने चौपट पारेको भन्दै उहाँले यसले क्षेत्रीय विकासको अवसरलाई भने नराम्रोसँग असर पारेको बताउनुभयो ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पनि मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घरेलु आवश्यकता पूरा गर्न र नजिकिएको चुनावी माहोल आफ्नो पक्षमा पार्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय सुरक्षालाई खतरामा धकेल्ने काम गरेको दाबी गरेका थिए ।  

युद्ध भए नेपाल अछुतो रहन्न

अहिलेको अवस्था हेर्दा दुवै देशबीच युद्ध नै भइहाल्ने अवस्था छैन तर युद्ध भइहाले नेपाल त्यसको चपेटामा नराम्रोसँग पर्ने देखिन्छ । 

भूराजनीतिक कारणले पनि यो मुद्दामा नेपाल अछुतो नरहने बताउँदै सुवेदी भन्नुहुन्छ, ‘भारतको विभिन्न सुरक्षा संयन्त्रमा नेपालीहरु छन् । युद्ध भए युद्ध मैदानमा जाँदा हाम्रै युवाहरु मारिन पनि सक्छन् ।’ 

सरकार सतर्क रहन आवश्यक

डा.सूर्यराज आचार्य

दुवै देशबीचको द्वन्द्वले पार्ने सम्भाव्य प्रभावका बारेमा सरकार सतर्क र चनाखो रहनु पर्ने पनि आवश्यकता औँल्याउनुहुन्छ, विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य । ‘भारत र पाकिस्तान दुवै देश नेपालका छिमेकी देश हुन् । नेपाल र भारतबीचको सीमा खुला छ । त्यसैले बढ्दो द्वन्द्वको घटनाक्रमलाई विश्लेषण गर्दै नेपालले सतर्कता भने अपनाउनु पर्नेछ’, उहाँले भन्नुभयो ।   

भारत र पाकिस्तानमा अतिवादले काम गरेको भन्दै आचार्य भन्नुहुन्छ, ‘भारत र पाकिस्तान दुवै देशको जनस्तरमा निकै अतिवादी सोच रहेको र त्यसले गर्दा अहिले जनस्तरबाटै युद्धका लागि उकास्ने खालका क्रियाकलाप भइरहेको देखिन्छ ।’  

अहिलेको विषम परिस्थितिलाई नेपालले आफ्नो हैसियतअनुसार डिप्लोम्याटिक च्यानलबाट दुवै देशलाई ‘कूल डाउन’ गराउनेतर्फ लाग्नु जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

हचुवाको भरमा प्रतिक्रिया जनाउनुभन्दा पनि गम्भीरताकासाथ घटनाको विश्लेषण गरेर आवश्यक तयारीमा सरकार लाग्नुपर्ने उहाँको भनाइ छ । 

‘दुवै देशबीच सन् १९७१ को युद्धपछि लाइन अफ् कन्ट्रोल नै क्रस गरेर भारतीय फाइटर जेट पाकिस्तानमा छिरेको भन्ने कुरा अहिले बाहिर आएको छ । यो भनेको घटना गम्भीर मोडतर्फ गएको देखिएको छ’, आचार्य भन्नुहुन्छ ।  

नेपाल सजग हुनुपर्छ

भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र भएको र दुवै राष्ट्र युद्धकै लागि अघि बढ्ने सम्भावना पनि उत्तिकै रहेको भन्दै नेपाल अहिलेबाटै तीन वटा विषयमा सजग भने रहनुपर्ने डा. आचार्यको सुझाव छ ।  

दुवै देशबीच युद्धकै अवस्था निम्तिए नेपाललाई पहिलो धक्का भारतबाट आयात हुने सामग्रीमा लाग्न सक्छ । ग्यास, पेट्रोलजस्ता अत्यावश्यक पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य सामग्रीहरुमा नेपाल भारतकै भर पर्नु पर्ने अवस्थामा छ ।

त्यो देश युद्धमा जाँदा त्याहाँबाट हुने यस्ता बस्तुको आयातमा कठिनाई हुन सक्ने र नेपालमा अभावको अवस्था आउन सक्ने स्थिति हुन सक्छ । त्यसैले यस्ता वस्तुको विकल्प खोज्न सरकार अहिलेबाटै  चनाखो हुनुपर्ने आचार्यले जोड दिनुभयो ।  

दैनिक उपयोग्य बस्तुदेखि अत्यावश्यक पेट्रोलियम पदार्थसमेत भारतकै निर्भर हुनुपर्ने अवस्था हटाउन उत्तर छिमेकी देश चीनसँगको नाका छिटो सञ्चालनमा ल्याउनुको विकल्प नरहेको विश्लेषक सुवेदी बताउनुहुन्छ ।

‘दुवै देशबीच युद्धको अवस्था आए पनि उत्तरतर्फको नाका खुले दैनिक उपभोग्य सामाग्री र पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक बस्तुको अभाव झेल्नु पर्दैन’, उहाँले भन्नुभयो, ‘त्यसैले सरकारले अब ढिला नगरी चीनतिरको नाका खुलाउने र वैकल्पिक मार्ग छिटो तयार पार्ने काम गर्नु जरुरी छ ।’ 

सामाजिक स्तरमा अहिले नै भयावह अवस्था नरहे पनि सरकारी स्तरबाट भने राज्य तयारी अवस्थामा बस्दा उचित हुने डा.आचार्यको सुझाव छ । 

‘नेपाल र भारतबीचको सीमा खुला छ । युद्धका बेला खुला सीमाको फाइदा उठाउँदै नेपाली भूमि पनि प्रयोग हुन सक्ने र हाम्रो आफ्नै राष्ट्रिय सुरक्षामा पनि खतरा आउन सक्नेतर्फ पनि सरकार अहिलेबाटै सजग हुनु जरुरी देखिन्छ’। आचार्यले भन्नुभयो ।   

नेपाली भूमि प्रयोग

पाकिस्तानले नेपाली भूमि प्रयोग गरेर आफ्नो सुरक्षामा खलल पुर्‍याइरहेको भारतले पहिलेदेखि नै आरोप लगाइरहेको छ ।  

द्वन्द्व भयो भने भारतविरुद्धमा पाकिस्तानीहरु नेपाल आएर झनै बढी चलखेल गर्न सक्ने सम्भावना रहेको विश्लेषक सुवेदी बताउनुहुन्छ । यसले नेपालको आन्तरिक सुरक्षामा झनै ठूलो असर पार्ने उहाँ बताउनुहुन्छ । 

‘नक्कली नोटको कारोबार फैलाउनेदेखि भारतका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा संलग्नहरुले नेपालको भूमि प्रयोग गर्दै भारतविरुद्ध क्रियाकलाप गरेको पहिलेदेखि नै भारतले भन्दै आएको हो । तर अहिले अब कसैको विरुद्ध पनि नेपाली भूमि प्रयोग हुन नदिन सरकार चनाखो बन्नुपर्छ’, सुवेदीले बताउनुभयो । 

डा. आचार्य पनि सार्वभौम राष्ट्रको भूमि कसैको विरुद्धमा प्रयोग हुनबाट रोक्न सरकार सतर्क हुनैपर्ने बताउनुहुन्छ । 

नेपालले के गर्न सक्छ ? 

दुई छिमेकी देशहरू भारत र पाकिस्तानबीच तनाव चुलिँदै जाँदा सार्क राष्ट्रको अध्यक्ष भएर नेपाल चुप लागेर बस्नु न्यायसंगत नरहेको भन्दै आवाज उठेको छ ।  

अहिले सार्कको अध्यक्षता नेपालले गरिरहेको छ । तर दुवै देशबीच तनाव चुलिँदै जाँदा पनि नेपालले खासै कुनै भूमिका निर्वाह गर्न सक्ने अवस्था भने नरहेको विश्लेषक सुवेदी बताउनुहुन्छ ।  

‘दुवै देशलाई शान्ति वार्तामा बस भनेर आह्वान गर्नुबाहेक नेपालले अन्य भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । 

सार्क राष्ट्रको अध्यक्ष रहे पनि नेपाल आफ्नो राष्ट्रको पक्षमा बोल्ने भारतले विश्वास लिएको छ भने पाकिस्तानले नेपाल तटस्थ नै रहोस् भन्ने चाहन्छ । तर यसबारेमा नेपालले अहिलेसम्म औपचारिक धारणा भने सार्वजनिक गरिसकेको छैन ।  

बढ्यो सुरक्षा सतर्कता

भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीखुला सीमानाका कारण हुनसक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय विमानस्थलका साथै भारतसँग जोडिएको सीमा क्षेत्रमा निगरानी बढाइएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थलमा समेत अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको सुवेदीले जानकारी दिनुभयो ।

भारत–पाकिस्तानबीच तनाव चुलिँदै गएका बेला आइतबार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालको विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो ।  

केही दिनअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न रहेका भनिएका जैश–ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई छुटाउन सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो । 

उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए ३०० विमानलाई आतंकवादी समूहले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । अहिले फेरि भारतको कश्मीरमा भएको आक्रमणको जैश–ए–मोहम्मदले नै जिम्मेवारी लिएको छ । 

कुनै पनि देशको विरुद्धमा नेपाली भूमि प्रयोग हुन नदिन विमानस्थलका साथै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रवक्ता सुवेदीले बताउनुभयो । साथै दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्याल गर्दै सीमामा सतर्क हुन निर्देशन दिइएको पनि सुवेदीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया