‘विदेशमा समस्या पर्दा निवेदन लिएर काठमाण्डौं आउनु पर्दैन, कम्प्यूटर र मोबाइलबाटै काम हुन्छ, विश्वास गर्नुहोस्’

 फागुन १८, २०७५ शनिबार १२:३२:५६ | मोहन पौडेल

कन्सुलर सेवा विभागले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई समस्या पर्दा आफू भएकै ठाउँबाट सेवा लिन सजिलो होस् भनेर फागुन ८ गते मोबाइल एप सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरु विदेशमा अप्ठ्यारोमा पर्दा होस् या परदेशीका परिवारलाई  केही सहयोग चाहिँदा नेपाल कन्सुलर नाम दिइएको एपबाटै सेवा लिन सकिने कन्सुलर सेवा विभागको भनाई छ । यसै सन्दर्भमा हामीले कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीसँग कुराकानी गरेका छौं । 

मोबाइल एप सार्वजनिक गर्नुभएको छ, के का लागि ल्याउनुभयो यो एप ?

अहिले धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुग्नुभएको छ । उहाँहरुलाई त्यहाँ रहँदा विभिन्न खालका समस्या हुन सक्छन् । त्यति मात्रै होइन उहाँहरु समस्यामा पर्दा देशमा रहेका उहाँहरुका परिवारले पनि सहयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तो अवस्थामा अहिले उहाँहरु विभिन्न जिल्लाबाट काठमाण्डौ आइरहनुभएको छ । तर अब वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु समस्या पर्दा गर्ने सहयोग माग्न काठमाण्डौ आइरहनु पर्दैन । आफू भएकै ठाउँबाट यस्तो सुविधा लिन सक्नुहोस् भनेर हामीले ‘नेपाल कन्सुलर’ नाम दिएर मोबाइल एप ल्याएका हौं । 

कन्सुलर सेवा विभागले समस्या पर्दा, शव झिकाउनु पर्दा अनलाइन प्रणालीबाटै गरिरहेकै थियो अहिले मोबाइल एप पनि ल्याउनुभयो, किन ?

हो, हामीले हाम्रा काम अनलाइनबाटै गरिरहेका थियौं । अझै यसलाई सहज बनाउनलाई एप ल्याएका हौं । किनकी अहिले गाउँ गाउँमा पनि धेरैका हातमा ‘स्मार्ट फोन’ छन् । 

अनलाइनबाट चाहिँ कत्तिको आउँछन् निवेदनहरु ? सेवाग्राहीले अनलाइनको प्रयोग गरिरहेका छन ?

प्रयोग गर्नेहरु पनि छन्, अनि नगर्नेहरु पनि । यसमा दुई खालको बुझाइ छ । एक त अझै पनि धेरै ठाउँमा कागज नै प्रयोग चलन कायमै छ, अनि अर्कोतिर कम्प्यूटर प्रणाली प्रयोग गर्न थालिएको ठाउँमा पनि त्यसको प्रयोग प्रभावकारी छैन ।

त्यसैले यो कम्प्यूटर प्रणालीबाट काम गर्नुभन्दा कार्यालयमा पुगेर सम्बन्धित मान्छेलाई भेटेरै भन्यो भने काम छिटो हुन्छ भन्ने परेको छ । त्यसैले गर्दा हामीले सोचे जसरी अनलाइन प्रयोग गर्नेहरु बढेका छैनन् ।

तर वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने जिल्लाका संघसंस्थाका साथीहरुले आफूले यो प्रविधि प्रयोग गर्न थाल्नुभएको छ । अनि अरुलाई पनि त्यसका बारेमा बताउँदै हुनुहुन्छ । जसले गर्दा प्रयोग गर्ने क्रम बढ्छ भन्नेमा हामी आशावादी छौं । 

 

वैदेशिक रोजगारीमा जानेहरुको अवस्था अनि उनीहरुको परिवारको शैक्षिक, आर्थिक र सामाजिक अवस्था सबैको राम्रो छैन । सबै जना प्रविधिको प्रयोग गर्न जान्ने छन् भन्न पनि नमिल्ला अनि उनीहरुका लागि यो कसरी उपयोगी होला र ?

तपाईंले भन्नुभएको कुरा एकदम ठिक हो । मलाई प्राय धेरैले पनि यही प्रश्न गरिरहनुहुन्छ । तर यसमा हामीले यसरी मात्रै सोच्नु हुँदैन । अहिले धेरै विकट गाउँमा पनि प्रायःले मोबाइल चलाउँछन् अनि फेसबुक नचलाउने भन्दा चलाउनेहरु धेरै छन् ।

त्यसैले उनीहरुले हामीलाई चाहिने कुरा मोबाइलबाटै गर्न सकिन्छ भन्ने कुरा उनीहरुलाई बुझाउन सकियो भने यसको प्रयोगबाटै धेरै काम गराउन सकिन्छ । यो सेवाग्राहीकै लागि सुविधा हुने कुरा हो । आफन्त विदेशमा समस्यामा परे भने उहाँहरु अब एउटा निवेदन दिनकै लागि काठमाण्डौ आउनु पर्दैन ।

तपाईंहरुले अनलाइनबाट, मोबाइलबाट नै निवेदन दिन सकिन्छ काठमाण्डौ आउनुपर्दैन भनिरहनुभएको छ । तर त्यसकै काठमाण्डौ आउने अनि विभिन्न संघसंस्थामा पुग्नेको सङ्ख्या त घटेको छैन । यस बारेमा सेवाग्राहीले नबुझेका कि तपाईंहरुले बुझाउन नसक्नुभएको ?


दुवै हो । यस बारेमा सेवाग्राहीले बुझ्नुभएको छैन । अनि केही सुनेकाहरुले पनि अघि मैले भनेको जस्तै कम्प्यूटर र मोबाइलबाट गरेर के हुन्छ होला र भन्ने सोच्नुभएको छ । त्यसैले हो । तर म उहाँहरुलाई आग्रह गर्छु यो प्रणालीलाई विश्वास गर्नुहोस् । तपाईंहरु निवेदन दिनकै लागि काठमाण्डौ आउनु पर्दैन । काम हुन्छ ।

यो कुरा बुझाउन केही गर्दै हुनुहुन्छ ?

हामीले यसका लागि सोचिरहेका छौं । सबै ठाउँमा त पुग्न सम्भव हुँदैन तर प्रदेश अनुसार मुख्य मुख्य ठाउँमा गएर बुझायो भने हुन्छ कि भन्ने लागेको छ । यसमा त्यहाँका सरकारी अधिकारीहरुलाई सहभागी गराउन सक्यो भने हुन्छ ।

किनकी व्यक्तिलाई केही समस्या पर्दा उनीहरु सुरुमा सरकारी कार्यालयहरुमै पुग्छन । त्यसैले हामी त्यसरी नै योजना बनाइरहेका छौं । 

कम्प्यूटर र मोबाइल एपबाटै काम हुन्छ भन्नुभयो । यो कसरी कहाँबाट ल्याउने अनि केके सेवा पाइन्छ ?

यो स्मार्ट फोन र आइफोन दुवैमा डाउनलोड गर्न सकिने बनाएका छौं । आफ्नो मोबाइलको एप स्टोर र प्ले स्टोरमा नेपाल कन्सुलर भनेर खोज्दा हाम्रो एप पाइन्छ ।

त्यो डाउनलोड गरेर त्यसबाट हराएकाहरुलाई खोज्न, समस्यामा परेकाहरुलाई उद्धार गर्न, ज्यान गुमाएका व्यक्तिको शव झिकाउन, घाइते र ज्यान गुमाएका व्यक्ति र उनका परिवारले पाउने क्षतिपूर्ति दाबी गर्न मोबाइल एपबाटै निवेदन दिन सकिन्छ । त्यति मात्रै होइन आफ्ना केही गुनासा र समस्या भएपनि यहीँबाटै लेख्न सकिन्छ । 

यसरी गरिएको गुनासो कसरी सम्बोधन गर्नुहुन्छ ?

उहाँहरुको समस्या हेरेर हामी सम्बन्धित देशमा रहेको दूतावासमा पठाउँछौं । अनि त्यसमा के भइरहेको छ भनेर पनि उहाँहरुले आफैं हेर्न सक्नुहुनेछ । त्यसका लागि सुरुमा आफ्नो ‘आइडी’ बनाउनुपर्छ । त्यसपछि आफ्नो निवेदनमा के प्रगति भइरहेको छ भनेर मोबाइलमै हेर्न सकिन्छ । अनलाइनमा पनि त्यही नै प्रक्रिया हो । 

तर केही सेवाग्राहीले त निवेदन दिएको लामो समयसम्म पनि केही प्रतिक्रिया आएन भन्छन नी ?

कसै कसैको हकमा पक्कै पनि हो । तर सबैको हकमा यस्तो हुँदैन । जसको जटिल समस्या छ उनीहरुको हकमा हामीले अनि सम्बन्धित देशमा रहेको हाम्रो दूतावासले चाहँदा चाहँदै पनि छिट्टै यो काम गर्न सक्दैनौं ।

किनकी त्यो घटनाको प्रकृति पनि त्यस्तै हुन्छ अनि हामीले पनि त्यहाँका सरकारी निकायसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ । तर हामीसम्म आइपुग्नेमध्ये ९५ प्रतिशत निवेदनमा यस्तो हुँदैन ।

त्यसैले कम्प्यूटर र मोबाइल एपमा विश्वास गर्नुहोस् यसैबाट तपाईंले लिन खोजेको सेवा लिन सक्नुहुन्छ । एक पटक प्रयोग गर्नुहोस् । तपाईं आफैं हो रहेछ भन्ने लागिहाल्छ । 

एन्ड्राेइड एप लिङ्क - https://play.google.com/store/apps/details?id=com.ionic3push6.app&hl=en_IE

आइअाेएस् एप लिङ्क - https://itunes.apple.com/us/app/nepal-consular/id1441267962?mt=8

अन्तिम अपडेट: बैशाख ८, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया