धुम्बाराहीमा एकै स्वर – वृद्धभत्ता सुरु गर्ने भरतमोहन अधिकारीलाई नसम्झने बुढाबुढी होलान र !

 फागुन १९, २०७५ आइतबार १३:४२:२४ | अर्जुन पोख्रेल
unn.prixa.net

८२ वर्षको उमेरमा शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखियो ।

स्वर्गीय अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता कार्यकर्तादेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अरु दलका शीर्ष नेता तथा कार्यकर्ता धुम्बाराही पुगेका थिए ।

धुम्बाराहीमा पुग्ने जोकोहीले भरतमोहन अधिकारीलाई सम्झने सबैभन्दा ठूला उपलब्धी थियो, वृद्धभत्ता । बुढाबुढी र पार्टीका नेता कार्यकर्ता मात्र होइन, प्रतिपक्षी दलका नेताले पनि भरतमोहन अधिकारीले २०५१ सालमा अर्थमन्त्री हुँदा सुरु गरेको वृद्धभत्तालाई नै सम्झिए । 

भरतमोहनलाई नसम्झने बुढाबुढी को होलान र !

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका भरतमोहन अधिकारीले नेपालको इतिहासमा नै  फरक काम गर्नुभयो, वृद्धभत्ता वितरण ।

७० वर्ष नाघेका बुढाबुढीलाई दैनिक गर्जो टार्न सहज होस् भनेर मासिक १ सय रुपैयाँबाट सुरु गरेको भत्ता अहिले मासिक २ हजार रुपैयाँ पुगेको छ । कम्युनिष्ट नेतृत्वको सरकारले यसलाई मासिक पाँच हजार रुपैयाँ पुर्‍याउने भनिरहेको छ । 

विगतमा सरकारले सामाजिक सुरक्षाका धेरै कार्याक्रम घोषणा गरे । केही लागू भए, केही भएनन् । तर अहिलेसम्म लागू भएको सामाजिक सुरक्षामा वृद्धभत्ता कार्यक्रमजस्तो लोकप्रिय अरु कुनै कार्यक्रम भएनन् । 

वृद्धभत्ताको सुरुवातकर्ता स्वर्गीय भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली दिन आइतबार धुम्बाराहीमा पुगेको नरबहादुर हमालले भन्नुभयो, ‘२०५१ सालमा वृद्धभत्ताको कार्यक्रम जति चर्चित थियो, अहिले पनि उस्तै चर्चित छ, कांग्रेस होस् या कम्युनिष्ट हरेक चुनावमा भोट माग्ने बलियो हतियार पनि यही हो, त्यसैले भरतमोहनलाई नसम्झने बुढाबुढी को होलान र ।’

अधिकारीलाई श्रद्धाञ्जली दिन टोखाबाट धुम्बाराही पुगेका जगन्नाथ ढकालको भनाई पनि यस्तै छ । ‘उहाँले त्यो बेला वृद्धभत्ता सुरु गर्दा आलोचना पनि भएको थियो, तर अहिले परिवारले हेलाँ गरे पनि बुढाबुढीलाई सरकारले दिने भत्ताले सहारा दिएको छ ।’  

नेताहरुको पनि एउटै स्वर : वृद्धभत्ता ऐतिहासिक निर्णय

दिवंगत नेता भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली दिन धुम्बाराहीमा सबैजसो दलका नेता कार्यकर्ताको घुँइचो थियो । श्रद्धाञ्जली दिन पुगेका कांग्रेसका नेता डा. शेखर कोइरालालाई पत्रकारले सोधे, ‘भरतमोहन अधिकारीले सुरु गरेको वृद्धभत्ता र अरु कार्यक्रमलाई कसरी लिनुहुन्छ ?’ 

कोइरालाले भन्नुभयो, ‘त्यो कार्यक्रम धेरै नै राम्रो हो भन्नेमा त कुनै शंका नै भएन, सुरुमा लागू गर्न अप्ठ्यारो हुन्छ कि भन्ने थियो, तर अहिले त भरतमोहन दाइलाई चिनाउने ऐतिहासिक कार्यक्रम नै वृद्धभत्ता बन्न पुग्यो ।’

श्रद्धाञ्जलीका लागि धुम्बाराही पुगेका कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारले पनि भरतमोहन अधिकारीले सुरु गरेको वृद्धभत्ता कार्यक्रम लोकप्रिय भएको र यसले कम्युनिष्ट र कांग्रेस दुवैलाई फाइदा हुने काम गरेको बताउनुभयो । 

‘वृद्धभत्ता कार्यक्रम उहाँको धेरै नै पपुलिष्ट कार्यक्रम थियो, अहिले त्यसलाई चुनावको बेला झनै पपुलिष्ट बनाइएको छ, उहाँलाई सम्झने एउटा ठूलो काम नै वृद्धभत्ता बनेको छ’ गच्छदारले भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया