बाँझो जमिन भाडामा लिएर उत्पादन बढाउने अभियानमा महाशिला

 फागुन २०, २०७५ सोमबार १६:४६:१५ | सन्तोष थापा
unn.prixa.net

महाशिला गाउँ कार्यपालिका कार्यालय बालाकोटबाट देखिएको सुन्दर दृश्य तस्बिर-महाशिला गाउँपालिका

पर्वत – महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रको उत्पादशील बाँझो जमिनलाई भाडामा लिएर उत्पादन कार्य बढाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न पाँचौ गाउँसभाबाट यस प्रकारको नयाँ अभियान शुरु गर्ने निर्णय भएको हो ।

गाउँ छाडेर शहरकेन्द्रित बन्दै गएपछि बाँझाे बनेकाे उत्पादनशील जमिन गाउँपालिकाले भाडामा लिएर व्यावसायिक खेती गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । महाशिलामा बसाइसराइका कारण अधिकांश गाउँ खाली बन्दै गएका छन् भने उब्जाउ जमिन बाँझो भएको छ । 

महाशिला गाउँपालिकाले यसअघि पनि करिव ६ सय बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्यले महाशिला स्वयंसेवक कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही कार्यक्रममा कृषि विधा छनोट गरेका बेरोजगार युवाहरुलाई उत्पादनशील कार्यमा लगाउने गरी यस्तो अभियान सञ्चालन भएको हो ।

व्यवसायिक खेती गर्नका लागि उपयुक्त जमिन भाडामा लिने तयारी गरिएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो । महाशिलाले जमिन सकेसम्म निःशुल्क लिने र जग्गाको अवस्था हेरेर वार्षिक रुपमा भाडामा लिने योजना बनाएको छ ।

भाडामा लिएको जमिनलाई व्यापारिक प्रतिष्ठान, सहकारी र स्थानीय कृषकका समूहलाई समेत भाडामा दिने तयारी भएको प्रशासकीय अधिकृत किसान क्षेत्रीले बताउनुभयो । यो सँगै गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र महाशिला, चिसापानी, गोल्याङ्ग, पैंयुकोट लगायतका स्थानमा लगानी गर्न नीजि क्षेत्रलाई आह्वान गर्ने निर्णय समेत गाउँसभाले गरेको छ । 

गाउँपालिकाले एक वडा एक होमस्टे अभियान समेत सुरु गरिसकेको छ भने पैंयुकोटमा हुवासबाट केवलकार सञ्चालन गर्न सकिने बारे सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया