सुरक्षित वैदेशिक रोजगारीका सूचना तथा परामर्श दिने केन्द्र जिल्ला प्रशासनमा

 जेठ १, २०७५ मंगलबार १४:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सागरबिक्रम बस्नेत/रामेछाप । 


जेठ १ – सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गतको सूचना तथा परामर्श केन्द्र जेठ १ गतेबाट जिल्ला प्रशासन कार्यालयमा सरेको छ । 


सदरमुकाम मन्थलीस्थित उद्योग वाणिज्य संघको भवनमा सञ्चालित केन्द्र प्रशासन कार्यालयमा सरेको हो । मंगलबारबाटै नयाँ भवनबाट सूचना केन्द्रको सेवा समेत सुचारु भएको छ । 


कार्यक्रममा नगर प्रमुख रमेशकुमार बस्नेतले जिल्लामा सञ्चालित सूचना तथा परामर्श केन्द्रले नागरिकको भावना, समयको माग अनुरुपको काम गरेकोमा मन्थली नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । 


स्थानीय तहले आगामी दिनमा पनि युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता नदिने हो भने सिङ्गो देश नै वृद्धाश्रममा रुपान्तरण हुने धारणा उहाँले राख्नुभएको थियो । सूचना तथा परामर्श केन्द्र निरन्तरताका लागि नगर प्रमुखको हैसियतले आफूले गर्ने सहयोग र बजेट विनियोजनमा आगामी योजनामा प्राथमिकता दिने प्रतिवद्धता दोहोर्‍याउनु भएको थियो । 
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रामेछाप आफ्ना लागि नयाँ कार्यक्षेत्र भएकाले भौगोलिक, सामाजिक र आर्थिक वस्तोस्थितीको अध्ययन गरिरहेको र सूचना तथा परामर्श केन्द्रका लागि कार्यालयको तर्फबाट गरिने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भएकोले सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सेवालाई निरन्तरता दिन रामेछापका सबै स्थानीय तहहरुले आउँदो आर्थिक वर्षको योजनामा प्राथमिकता साथ समावेस गर्न आग्रह समेत गर्नुभएको थियो ।  


शर्माले सूचना केन्द्र जिल्ला प्रशाशन कार्यालयबाट केही टाढा भएको कारण सेवाग्राही समेत सूचना केन्द्रमा नपुगेको र आजैदेखि सूचना केन्द्र जिल्ला प्रशासनको हातामा सञ्चालन हुँदा त्यो समस्या नदोहोरिने बताउनु भयो ।

 
जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्काले सामी परियोजना अन्र्तगत जिल्लामा भए गरेका गतिविधि अहिलेको आवश्यकता र जनसरोकारको विषय भएको हुँदा स्थानीय तहले सुरक्षित वैदेशिक रोजगारीको विषयलाई आत्मासात गर्नुपर्ने धारणा राख्नु भएको थियो । 


कार्यक्रममा सूचना तथा परामर्श केन्द्रकी मनोपरामर्सकर्ता मनिका सुनुवारले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्लामा परियोजनाले संञ्चालन गरेका गतिविधिको बारेमा सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले जानकारी गराउनु भएको थियो । सूचना तथा परामर्श केन्द्रबाट दिइने सेवाबारेमा परामर्शकर्ता सिर्जना बस्नेतले जानकारी गराउनु भएको थियो ।   


प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखले संयुक्त रुपमा सूचना तथा परामर्श केन्द्रको ब्यानर खोलेर केन्द्रको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र केसी, प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंह, महिला तथा बालवालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, मन्थली नगरपालिका १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 


जिल्लामा हेल्भेटास स्विस इन्टरकोअपरेशन र रामेछापका दुई गैरसरकारी संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समितिले परियोजनाका नियमित कार्यक्रम सञ्चालन गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया