ब्यारेकभित्र आत्महत्या गरेका भनिएका सैनिक जवानको हत्या भएको परिवारको दाबी

 फागुन २४, २०७५ शुक्रबार १७:३८:३५ | निर्मला खडायत

कैलाली – कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा मृत भेटिएका २३ वर्षीय सैनिक जवान वीरबहादुर खड्काको हत्या गरिएको शंका गरिएको छ । 

मृतकका परिवारले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी खड्काको हत्या भएको आरोप लगाएको छ । फागुन २० गते सैनिक दिवसका दिन ब्यारेकभित्रै मृत अवस्थामा भेटिएका जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १० का खड्काको हत्या गरेको आरोप पीडित परिवारले लगाएका छन् । 

परिवार र आफन्तले खड्काको आत्महत्या नभई हत्या भएकोे आरोप लगाएका छन् । पोशाक र जुत्ता नलगाएकै अवस्थामा मृत भेटिनुले हत्या भएको हुनसक्ने मृतक खड्काकी श्रीमती २२ वर्षीया हिमाली ज्योति बताउनुहुन्छ ।

गोली लागेपछि समेत हतियार समातेकै अवस्थामा खड्का भेटिनु र बाहिनी प्रमुखले शव परीक्षण नगरी आत्महत्या गरेको भन्ने अभिव्यक्ति दिनुले शंका पैदा भएको उहाँको भनाइ छ ।

फागुन २० गते ब्यारेकभित्र गोली प्रहार गरेको अवस्थामा मृत भेटिएका खड्काले आत्महत्या गरेको प्रहरीले बताएको थियो ।  तर अहिलेसम्म खड्काको शव परिक्षण भने हुन सकेको छैन् ।

आफन्तले घटनाको छानबिन भएर दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया