बयान गरेर साध्य नहुने मोबाइल पुराण !

 फागुन २५, २०७५ शनिबार ११:३२:३३ | मिलन तिमिल्सिना
unn.prixa.net

गोजीमा बरु पैसा नभए केही हुन्न, तर हातमा मोबाइल भएन भने के नभा के नभा जस्तो छटपटी हुन्छ । हिजोआज त मोबाइल भएपछि श्रीमानलाई श्रीमती पनि चाहिँदैन, श्रीमतीलाई श्रीमान पनि चाहिँदैन ।

बिहे नभएकालाई लभलेटर पनि चाहिँदैन, भर्खरका केटाकेटीलाई खानेकुरा पनि चाहिँदैन । सबै कुरा मोबाइलमै हुन्छ । तर मोबाइल पाल्न चाहिँ सजिलो छैन । बरु गाइभैंसी पाल्न सजिलो । गाइभैंसीलाई खुवाउन त खेतबारी, कान्लापाखा जताततै घाँस हुन्छ । तर मोबाइललाई खुवाउने पैसो पाउन निकै मुश्किल । बल्लतल्ल रिचार्ज गर्यो, दुई दिनमै पैसा स्वाहा ।

हातमा मोबाइल भएपछि क्याचक्याच फोन थिचिरहन मन लाग्ने । उसले छुस्स मिसकल दिन्छ । आफूले पनि यताबाट छुस्स मिसकल हान्यो । मिसकलले मात्र कुरा नबुझिने । गफ नगरी कुरा क्लियर नहुने । आफूभन्दा अर्को बढी बाठो हुन्छ । उसले पनि मिसकल नै हान्छ । अर्कोले पनि मिसकल गरेपछि आफूले फोन नगरी सुख पाईंदैन ।

त्यसमाथि नेट पनि चलाउनुपर्ने । च्याट गरिरहन मन लाग्ने । कसैलाई केही केही हेर्न पनि मन हुँदो हो । अनि हप्तैपिच्छे रिचार्ज । कतिलाई त हप्तामा चारपटक पनि रिचार्ज गर्नुपर्ने हुन्छ । 

हातहातमा मोबाइल भएपछि परिवारमा बातैपिच्छे झगडा हुन्छ । छोराछोरी सधैं मोबाइलमा झुण्डिन्छन् भनेर बाबुआमाले गाली गरेको गर्यै गर्छन् । तर मोबाइलको निउँमा तिनै छोराछोरीका बाबुआमा अर्थात श्रीमान–श्रीमतीबीच पनि झगडा भएको उदाहरण कति छन् कति ।

बिहे गरेको थाहा हुँदाहुँदै पनि कतिका श्रीमानलाई ठिटीहरुले हत्ते गर्छन् । श्रीमान पो के कम, उसले पनि उसैगरी हत्ते हाल्छ । दुवैले हत्ते गरेपछि मोबाइलमा फोन र म्यासेज आउने नै भयो । एकदिन श्रीमतीसँग कोठामा बसिरहेको बेला श्रीमानलाई एक नानीले म्यासेज पठाइन् । हेलो के गर्दैछौ मात्रै भनेको भए पनि हुन्थ्यो नि । हेलो डियर भनेर लेखेर मरिछ । 

अरुबेला त गोजीमै मोबाइल हुन्थ्यो । त्यो दिन उसले झुक्किएर टेबुलमै राखेछ मोबाइल । टिर्र म्यासेज आउनेबित्तिकै पहिले श्रीमतीले नै हेरिन् । नामको सट्टा एउटा ए लेखेको देखेपछि उनको शंका बढ्यो । श्रीमानले केही भन्न नपाउँदै श्रीमतीले म्यासेज हेरिन् । त्यसपछि के चाहियो र ? केही बेरअघिसम्म हाँसखेल गरिरहेका बुढाबुढीबीच झण्डै मारामार भएन । 

श्रीमानको मात्रै के कुरा । श्रीमती पनि उस्तै हुन्छन् । श्रीमान कहिले बाहिर जान्छन् र मेसेज गरौंला भनेर पर्खेर बस्ने श्रीमती पनि कति छन् कति ।

अहिले त ठिटाठिटी मोबाइलमै लभ गर्छन् । मोबाइलबाट फोन र एसएमएस गर्छन्, च्याट गर्छन् । कसैले त अनुहार नै नदेखी एसएमएस र फोन गरेर लभ गर्छन् । मोबाइलबाट गफ गर्दासम्म निकै राम्रो । उजस्तो संसारमा अरु कोही छैन जस्तो लाग्ने । जब भेट्न गयो, त्यसपछि छाँगाबाट खसेजस्तो । के सोचें पहिले के भयो अहिले । के देखें पहिले, के देखियो अहिले । देख्दै नदेखी मोबाइल लभ गरेपछि परिँदैन त फन्दामा !

पहिले पहिलेको लभ पो वास्तविक लभ । मान्छे प्रत्यक्ष देखेपछि मन पर्न थाल्थ्यो । अनि फ्याट्टै कुरा गर्न नसक्दा लभ लेटर लेखिन्थ्यो । चिल्लो कागजको पानामा फूलबुट्टा भरेर, साहित्य सिर्जना गरेर तौली तौली अक्षर कोर्दै लभ लेटर लेख्नु र पठाउनुको मज्जा बेग्लै हुन्थ्यो । 

लभलेटर पाउनेलाई पनि उत्तिकै मज्जा । आहा क्या सुन्दर अक्षर । क्या मीठो भाषा र शैली । यस्तो अक्षर लेख्ने हात कस्तो होला ? यस्तो भाषा र शैली लेख्ने भावना कस्तो होला ? अन्त कतै नगई त्यही अक्षर हेरिरहूँ जस्तो, पढुरहूँजस्तो । सिरानमुनि, कुन्तुरमुनि, खाटमुनि लुकाइलुकाई बेला बेला पल्टाएर हेरिरहूँ जस्तो लाग्ने लभलेटर । १० वर्ष, २० वर्ष, ४० वर्षअघिसम्ममा लभलेटर सुरक्षित गरेर राखेका हुन्छन् बुढाबुढीले समेत । त्यति धेरै महत्वको छ लभलेटर । 

यति धेरै महत्व बोक्ने लभलेटरलाई मोबाइलले खाइदियो । हिजोआज लभलेटर लेख्ने चलन नै हरायो । मोबाइलमा दुई अक्षरको हाइ, तीन शब्दको आई लभ यू र सेम टु यू, बाबा, माया भन्ने बाहेक लेख्ने काम कता पुग्यो कता । मोबाइलबाट फेद न टुप्पोको संवाद भन्दा लभलेटरमा भाँती पुर्याई पुर्याई लेखिने अक्षर, शब्द र सायरी नै लोभलाग्दा हुन्थे । 

मोबाइल फोन गर्न मात्रै होइन, खेल खेल्न काम लाग्ने भाँडो समेत हो । थरीथरीका गेम खेलेर तपाईँले पनि ट्याम पास गर्दै आउनुभएको होला । पहिले पहिले डुंगामा कोरेर बाघचाल खेल्नुपथ्र्यो । भुइँमा पलेटी कसेर क्यारेमबोर्ड खेल्नुपथ्र्यो । मोजाको भकुण्डो उफार्नु पथ्र्यो । तर अहिले सबैथोक मोबाइलमै हुन्छ । 

मोबाइलमै बल खेल्न पाइने । मोबाइलमै क्यारेमबोर्ड खेल्न पाइने । मोबाइलमै तास खेल्न पाइने । सबैथोक मोबाइलमै । त्यति मात्र हो र केटाकेटी रुँदा फकाउने फुल्याउने भाँडो पनि मोबाइल नै ।

पहिला–पहिला त केटाकेटी रुँदा हातहात नचाउँदै बाबु काउकाउ, नानी काउकाउ भनेर फुल्याउने चलन थियो । अहिलेका केटाकेटी हेर्नुहोस् त फुल्लिन पनि मोबाइल चाहिन्छ । चुप लागेर बस्न, ज्ञानी हुन पनि त्यही मोबाइल चाहिन्छ । मोबाइल नभई मान्दैनन् केटाकेटी । रोइरहेका केटाकेटीको कानमा मोबाइल राख्देर ल हेलो भन भनेपछि मात्र उ दंग हुन्छ । उफ्रन्छ । मोबाइल देखाएपछि मात्र भात खान्छ ।

हिजोआज स्कुल, क्याम्पस, कार्यालय, मन्त्रालय, कार्यक्रम हुने हल सबैतिर लेखिएको हुन्छ–कृपया मोबाइलको स्वीच अफ् गरिदिनुहोला अथवा साइलेन्समा राखिदिनुहोला । तर उही धुमपान निषेध भनेजस्तै त हो नि यो व्यवस्था । यहाँ धुमपान निषेध छ भनेको ठाउँमा कसले चुरोट खाँदैन ? तलतल लागेपछि खानेले निषेध लेखेको होस् या नहोस् चुरोट सल्काएर तान्न थालिहाल्छ । 

मोबाइलको कुरा पनि यही हो । हलमा कार्यक्रम भैरहेको हुन्छ । ठूला–ठूला विषयमा गरमागरम छलफल भैरहेको हुन्छ । त्यही बेला कसैको मोबाइल टिर्र बज्छ । मोबाइल बजेको ठाउँतिर सबैको आँखा पुग्छ । सबैले आफूतिर हेरेपछि उ दंग पर्छ । मोबाइल बोक्ने मान्छे । मोबाइलमा घण्टी बज्ने मान्छे । ठूलो मान्छे । दंग परेर गदगद त हुनै पर्यो नि ।

मोबाइलका कुरा अझै कति छन् कति । हजार जिब्रा भएका शेषनागले त बयान गरेर साध्ये नलाग्ने मोबाइल पुराण म एक जिब्रो भएको मोबाइल प्राणीले कसरी सकौँला र । 

अन्तिम अपडेट: चैत ४, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया