हिमपातका कारण मुस्ताङमा १२ सय पशु चौपाया मरे

 फागुन २७, २०७५ सोमबार १८:५१:५० | सन्तोष थापा
unn.prixa.net

पर्वत – गएको १५ फागुनदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दा बढी पशु चौपाया मरेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका, थासाङ गाउँपालिकालगायत क्षेत्रका स्थानीय कृषकहरुले पालेका पशु चौपाया मरेका हुन् । 

सीमा प्रहरी चौकी लोमान्थाङले दिएको जानकारी अनुसार लगातारको हिमपातका कारण लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडा च्याङ्ग्रा, २ सय ३९ चौरी मरेका हुन् । हिमपातबाट ५५ जना स्थानीय कृषकहरु पीडित बनेको प्रहरी चौकीले जनाएको छ ।

हिमपातका कारण थासाङ गाउँपालिका-२ का गोविन्द शेरचनले पालेका ८ वटा चौँरी गाईसमेत हिउँ पहिरोमा परि मरेका हुन् ।

हिमपातका कारण १ हजार १ सय ३५ वटा पशु चौपायाको मरेकाे  र झण्डै २ करोडको क्षति भएको प्रहरीले जनाएको छ । घटनाको थप  अनुसन्धानका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरुमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ । 

लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको सक्रियतामा क्षति विवरण संकलन कार्य सुरु गरिएको बताउनुभयो । 

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले प्रतिनिधि सभाको आइतबार सम्पन्न बैठकमा हिमपातबाट भएको क्षति विवरण यकिन गरी क्षतिपूर्ति दिलाउन संसदमार्फत सरकार समक्ष माग गर्नुभएको थियो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया