कोरियन भाषा परीक्षाको आवेदन चैत ८ गतेदेखि खुल्ने

 फागुन २८, २०७५ मंगलबार ९:३६:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ । काठमाण्डौ र पोखरामा  परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार उत्तीर्ण हुनेछन् । 

परीक्षा शुल्क २४ डलर तोकिएको छ । आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिना यताको फोटो अपलोड गर्नुपर्नेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया