‘कोरियन भाषा परीक्षाको फारम १२ हजारले मात्रै भर्न पाउने कुरा सत्य होइन’

 फागुन २९, २०७५ बुधबार १७:२३:१९ | उज्यालो सहकर्मी

काठमाण्डौं – इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको फारम भर्न कोटा नतोकिएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा पहिलो चरणमा १२ हजार जनाको फारम मात्रै लिइने भनेर समाचार सार्वजनिक भएकोमा इपिएस कोरिया शाखाले त्यो समाचार सत्य नभएको स्पष्ट पारेको हो । 

शाखाका निर्देशक कृष्णप्रसाद खनालले फारम भर्न कुनै सङ्ख्या नतोकिएको बताउनुभयो । ‘फारम भर्न सङ्ख्या तोकिएको होइन’ खनालले उज्यालोसँग भन्नुभयो ‘त्यो १२ हजार चाहिँ पोखरामा तोकिने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने परीक्षार्थीको सङ्ख्या मात्रै हो ।’

पोखरामा १२ हजारभन्दा धेरै विद्यार्थीको परीक्षा लिन नसकिने भएकाले पोखरामा दिन चाहने गरी फारम भर्नेमध्ये सुरुमा भर्ने १२ हजारले मात्रै पोखराबाट परीक्षा दिन पाउने उहाँले बताउनुभयो । बाँकीले परीक्षा दिन काठमाण्डौं नै आउनुपर्ने छ । 

कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको हो ।  

शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ । काठमाण्डौ र पोखरामा परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । 

कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार उत्तीर्ण हुनेछन् ।   जसमध्ये ७ हजार जना औद्योगिक क्षेत्रमा र बाँकी ५ हजार ५० जना कृषि क्षेत्रका लागि ताेकिएकाे ५ । परीक्षा शुल्क २४ डलर तोकिएको छ । 

आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ । फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । 

आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिना यताको फोटो अपलोड गर्नुपर्नेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया