२५ वर्षदेखि पाल्पालीकाे सेवामा समर्पित ‘ओके बाजे’ लाई पाल्पालीले गरे भव्य सम्मान

 फागुन ३०, २०७५ बिहिबार १५:४४:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा – २५ वर्षदेखि निरन्तर पाल्पामा बसेर समाजसेवा गरिरहनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई बिहीबार पाल्पामा नागरिक अभिनन्दन गरिएको छ । 

जिल्लाका १ सय ८० भन्दा बढी विद्यालय एवं विभिन्न संघसंस्थाहरुले उहाँलाई सम्मान गरेका हुन् । पन्चे बाजासहितको र्यालीले तानसेन बजार परिक्रमा गरी टुडिखेल मैदानमा विशेष समारोहको आयोजना गरी सवाजसेवी ओके बाजेलाई सम्मान गरिएको मूल समारोह समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सम्मान गरेपछि विभिन्न संघ संस्थाहरुले उहाँलाई सम्मान गरेका हुन् । कार्यक्रममा जापानबाट आएका कलाकारहरुले समेत ओके बाजेको सम्मानमा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

२५ वर्ष अघि पाल्पाका एक ट्रेकिङ्ग गाइडसँग पाल्पा आउनुभएका काजुमासा काकिमी (ओके बाजे) ले जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, क्लब तथा गरिब, जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । 

विकास निर्माणका काममा समेत ओके बाजेले पाल्पामा करोडाैँ आर्थिक सहयोग गर्नुभएको छ । जिल्लामा भएका समस्या र मागलाई लिएर उहाँले जापानमा रहेका विभिन्न संघ संस्थाहरुसँग अनुरोध गर्ने र सहयोग गर्ने काम गरिरहनुभएको हो । 

सुरुमा नेपाल आएको बेला मानिसहरुसँग कुरा गर्दा ओके, ओके भन्ने भएकाले उहाँलाई स्थानीयले ओके बाजे भनेका हुन् । पछि सबैले उहाँलाई ओके बाजेकै रुपमा चिन्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया