कुवेतबाट सँगै फर्कियो गीताको खुशी (भिडियाेसहित)

 चैत १, २०७५ शुक्रबार ८:४६:८ | सन्जिता देवकोटा

मोरङ – सानै उमेरमा परदेश गएर पीडा भोगेकी झापा चारपानेकी गीता धमला जीवनलाई ‘सुख र दुःखको संगालो हो’ भनेर परिभाषित गर्नुहुन्छ । 

‘जीवनमा सुखभन्दा धेरै दुःख आउँछन् । सुखलाई आफ्नो पोल्टामा पार्न पहिला दुःखसँग लड्नु पर्छ’ सानैदेखि दुःखमा हुर्केकी अनि १६ वर्षमै परदेश जान बाध्य भएकी गीताले भोगेको जिन्दगीको परिभाषा हो यो । 

गाउँ छोडेर कहिल्यै पनि शहर नगएकी एउटी किशोरी परदेश पुग्दा दुःखसँग कसरी जुधिन् होला ? काम गर्दा कति ठेस लागे होला ? अर्काको देशमा आफूलाई कसरी सम्हालिन् होला ? दिमागमा धेरैथरी जिज्ञासा उठ्छन् । गीता भन्नुहुन्छ, ‘दुःख कति हुन्छ भोग्नेलाई थाहा हुन्छ, तर एउटा छोरी मान्छेलाई बलियो बनाउने सबैभन्दा ठूलो कुरा त आँट रहेछ ।’

सानै छँदा बुवाले साथ छोडेपछि गीताको दुःखका दिन सुरु भए । बिहान बेलुका एक छाक खानकै लागि उहाँले मजदुरीदेखि परदेशीसम्मको यात्रा गर्न बाध्य हुनु पर्‍यो ।

सुन्दर भविष्यको कल्पना गर्दै गीता दुई पटक कुवेत पुग्नुभयो । कुवेतमा बिताएका सात वर्ष निकै कष्टकर बने । तर भनिन्छ नि चिहानमा पनि बिहान घाम उदाउँछ । गीताको दुःखी जीवनमा पनि सुनौला घामको किरणले छोयो । दुःखको सागरलाई पार गरेर गीता हिजोआज एउटा सुखी परिवारमा मुस्कुराइरहनुभएको छ । 

विगत सम्झँदा गीताका आँखा रसाउँछन् । ‘सोचेजस्तो त कहिल्यै पनि हुँदैन, तर मेरो जस्तो बाल्यकाल अरुको नहोस् जस्तो लाग्छ’ गीता कामना गर्नुहुन्छ । 

पासपोर्ट बनाउनै झमेला

गीताका दुई बहिनी र एक भाइ । बहुविवाह गरेका बुवाले उनीहरु सानै छँदा आमाको साथ छाडिदिए । ‘हामी जन्मिएपछि बुवा जेठी ममीतिर नै बस्नुभयो, ममीलाई हेलाँ भयो, बिचल्लीमा हामी पर्‍यौं,’ गीता सुनाउनुहुन्छ । 

आमाले मजदुरी गर्थिन् । एक जनाको कमाइले चार जनाको पेट भर्न मुश्किल । गीता पनि आमा सँगसँगै काममा जानुहुन्थ्यो । कसै गरे पनि घर चलाउने मेसो नमिलेपछि गीताकै भरमा तीन भाइबहिनी छाडेर आमा कुवेत लागिन् । 

आमा परदेश लागेपछि गीताले बिस्कुट उद्योगमा काम गर्नुभयो । महिनाको पाँच सय रुपैयाँ थियो तलब । ‘पाँच सयले खानुकी कोठाभाडा तिर्नु, कति भयो भयो नि दुःख,’ गीतालाई त्यही दुःखले नै परदेश जाने आँट दियो । 

गीता भन्नुहुन्छ, ‘आमा गएको देशमा म पनि गर्न सक्छु होला भन्ने लाग्यो, त्यही भएर विदेश गएको हुँ ।’ १० वर्षअघि गीता आमा गएकै देश कुवेतमा जानुभयो । 

विदेश जाने प्रक्रिया मिलाउन पनि सजिलो भएन उहाँलाई । पठाइदिने मानिस चिनजानकै थिए । तर हातमा पासपोर्ट थिएन । पासपोर्ट बनाउन उमेर मात्र होइन, जीउडाल पनि सानो थियो गीताको । 

जिल्ला प्रशासन कार्यलयमा पासपोर्ट बनाउन पुग्नुभयो । तर कर्मचारीले पासपोर्ट बनाइदिन मानेनन् । ‘म १६ वर्षको थिएँ, ज्यान पनि खिरिलो थियो, यो पासपोर्ट बनाउने नानी हो कि ठूलो मान्छे भनेर सोध्थे, मैले त म २०÷२१ वर्षको भएँ भनेर ढाँटेर बल्लबल्ल बनाएको पासपोर्ट,’ गीता पासपोर्ट बनाउँदा खेपेका सास्ती सुनाउनुहुन्छ । 

गीतालाई जसरी पनि कमाउनु थियो । दुःखले पिल्सिएर परदेश जान गरेको आँटलाई उमेरले छेक्नेवाला थिएन ।  भारतको बाटो हुँदै कुवेत पुग्नुभयो । 

पासपोर्ट बनाउँदाको जस्तै हैरानी कुवेतको विमानस्थलमा पनि खेप्नु पर्‍यो । ‘भाषा नबुझ्ने, अलिअलि पढेको भए पनि अंग्रेजी बोलिन्थ्यो तर केही भएन, बल्ल बल्ल एयरपोर्ट बाहिर गएँ’ गीताले सुनाउनुभयो ।

कुवेतका कहर

गीता बाटोका अल्झनलाई पन्छाउँदै कुवेत त पुग्नुभयो । कुवेत पुगेपछि काम पनि पाइहाल्नुभयो । आफ्नो दक्षताअनुसार घरको काम पाएकोमा खुशी हुनुहुन्थ्यो गीता।

घरको काम भए पनि भाषा र काम नजान्नु नै पहिलो दुःखको कारण बन्यो । कुवेत पुग्ने बित्तिकै काम गरेको घरमा राम्रो थियो । सबैले राम्रो व्यवहार गर्थे । काममा पनि उति दुःख थिएन । तर मोबाइल चलाएको निहुँमा उहाँलाई कामबाट निकालिदिए । 

‘मोबाइल लुकाएर फोन गरेको थिएँ, फोन चलाएको देखेर साहुले अफिसमा पुर्‍याइदिए,’ गीता भन्नुहुन्छ, ‘त्यो घरमा मोबाइल चलाउन नपाइने नियम रहेछ ।’

त्यसपछि मिल्यो घरमा बच्चा हेर्ने काम । गीतालाई कुवेतमा साहुका छोराछोरी हेर्ने काम आफ्ना भाइबहिनी हुर्काउँदाको जस्तो सहज भएन । बच्चाकै निहुँमा उहाँले गाली मात्र हैन कुटाई पनि सहन पर्‍यो । 

‘बच्चा मैले नै सुताउन पथ्र्यो, बिरामी भयो भनेर मलाई कति कुट्यो,’ गीता ती दिन सम्झनुहुन्छ, ‘केटा मान्छेको कुटाई कस्तो थियो होला तपाईँ सोच्न सक्छुहुन्छ, उसले मलाई सक्नेजति कुट्यो ।’

एक त परदेश । त्यसमाथि साहुको कुटाई । किशोरी गीतालाई कस्तो भयो होला रु गीताले भनेजस्तै भोग्नेलाई मात्र थाहा हुन्छ । 

कुटे पनि, गाली गरे पनि काम गर्नै पर्ने । दुई वर्ष घरमा काम नगरी फर्किन पाउँदिनस् भनेर थर्काउँथे साहुले । काम गर्न सक्दिनँ भन्दा साहुले सिधै जवाफ फर्काउँथे – ‘तँलाई किनेर ल्याएको हो, त्यसै कहाँ जान पाउँछेस् ।’

गीताले नेपाली दूतावाससँग कुवेतमा फोन गरेर गुहार माग्नुभयो । आफ्नो अवस्था र भोगीरहेको पीडा रुँदै सुनाउनुभयो । तर दूतावासका कर्मचारी पनि ‘निष्ठुरी’ भइदिए । ‘भारतबाट आएको मानिसलाई हामी सहयोग गर्न सक्दैनौं,’ दुःखको सागरबाट आफूलाई निकाल्न गुहार माग्दा दूतावासले गीतालाई यही जवाफ फर्कायो। 
दिनरात कुटाइ खाएर जिउँदै मर्नुभन्दा त एकैपल्ट मर्नु बेश । यही सोचेर गीता साहुको घरबाट भाग्नुभयो । पराइको देशमा त्यसरी साहुको घरबाट भाग्दा जे त होला भन्दै उहाँले भोलि आउने दुःखबारे सोच्नुभएन । आइपर्ने अप्ठ्यारासँग लड्ने आँट बटुलेर भाग्नुभयो साहुको घरबाट । 

कहाँ जाने, पेट कसरी भर्ने, रात कहाँ बिताउने पत्तो थिएन । रुमलिंदै बाटोमा हिँडिरहेकी गीताको पोखराकी एक नेपाली महिलासँग भेट यो । उनैले गीतालाई सहयोग गरिन् । 

साथमा पासपोर्ट थिएन । जुनबेला पनि प्रहरीले समात्न सक्थ्यो । साहुले चाहेको भए गीतालाई जुनसुकै आरोप लगाइदिन सक्थ्यो । उहाँले अरु कुवेतीको साथ र सहयोग पाउनुभयो । 

‘५/६ महिना त मलाई त्यही पोखराको दिदी र कुवेतीहरुले लुकाईलुकाई राखे, त्यसपछि यसै कति बस्नु भनेर काम पनि गरें’ गीता भन्नुहुन्छ, ‘घरको काम त्यो पनि लुकेर गर्दा राम्रो नहुने रहेछ ।’ 

लुकीलुकी काम गर्दा सास्ती खेपिरहेकै बेला अवैधानिक हैसियतले बसिरहेका विदेशी नागरिकलाई घर फर्किने अवसर दियो कुवेतले । घर फर्किनकै लागि गीताले जानी जानी प्रहरीलाई पक्राउ गर्न लगाउनुभयो ।

‘केही समय जेल परेपछि घर फर्किन पाइन्छ भने, त्यसैले मैले प्रहरीलाई ५० दिनार दिएर मलाई नै पक्रन लगाएँ’ गीता भन्नुहुन्छ, ‘तर जेल हामीले सोजेजस्तो नहुने रहेछ, कति दुःख भोगियो, कति देखियो, धन्न बाँचेर आएँ ।’

जेलको अवस्था र आफूले पाएको दुःख देखेर गीताले बाँचेर स्वदेश फर्किने आश मार्नुभएको थियो । गीतालाई लाग्थ्यो ‘अब जेलमा नै मेरो जीवन बित्छ ।’ गहभरी आँसु बनाउँदै गीता सम्झन्नुहुन्छ, ‘मेरो भाग्यमा रहेछ म बाँचेर फर्किएँ, आफन्तलाई पनि भेट्न पाएँ ।’

कमाउने आशमा गीता दुई पटक कुवेत जानुभयो । पहिलोपल्ट चार वर्ष र दोस्रो पटक जाँदा तीन वर्ष गरी कुवेतमा ७ वर्ष बिताउनुभयो । यी सात वर्षमा उहाँले १० वटा घर परिवर्तन गर्नुभयो । घर फेरिए, तर दुःख फेरिएनन् । 

यी सात वर्षमा गीतालाई दुःखले गलाउँदै थियो । कमाई भने दुःख अनुसारको थिएन । परदेशमा भोग्नु परेका सास्तीले गलाए पनि कमाएर पूरा गर्न साँचेका सापना ओइलाएका थिएनन् । 

सात वर्ष कुवेतमा दुःख गरेपछि उहाँ सन् २०१६ मा घर फर्कनुभयो । घर फर्किएपछि गीताको जीवनमा खुशीहरु पनि विस्तारै फर्किए । 

घर फर्किएपछि‍‍‍‍...

विदेशबाट फर्किएपछि घर बनाउनुभयो । कुवेतमा आफूले कमाएको धेरथोर पैसा त्यही घरमा लगानी गर्नुभयो । ‘मेरो त आमाको आर्थिक अवस्था एकदमै कमजोर थियो, आमालाई नै सहयोग गर्न कमाएको जति लगानी गरें, आमा र मैले मिलेर जग्गा किन्यौं, घर बनायौं,’ गीता सुनाउनुहुन्छ ।

आमाछोरी मिलेर जन्म घर बनाएपछि गीताले कर्म घर पनि पाउनुभयो । इलामबाट उहाँको हात माग्न आए । गीतालाई पनि केटा मन पर्‍यो । ‘यसै बसेर पनि हुँदैन,’ गीताले सोच्नुभयो, ‘मन मिल्दो मानिस भेटेको बेला नाई भन्दिनँ ।’

गीताले बिहे गर्नुभयो । दुःखको आहालमा डुबेकी गीता विस्तारै लयमा फर्किनुभयो । हिजोआज खान लगाउन दुःख छैन । छोेरी जन्मिएकी छन् गीताको । श्रीमान कतार गएको झण्डै ७ महिना भयो । श्रीमानले परदेशमा कमाउँछन् उहाँ घर व्यवहार चलाउनुहुन्छ ।

कतिलाई रहरले विदेश पुर्‍याउँछ त, कतिलाई बाध्यताले । आफूलाई बाध्यताले परदेश पुग्नु परे पनि अब ती विगतसँग उहाँलाई पछुतो छैन । ‘दुःख नगरी सुख हुँदैन, शायद सानैदेखि सुख पाएको भए आज दुःख हुन्थ्यो कि, गीता अहिले जीइरहेको जीवनसँग चित्त बुझाउँदै भन्नुहुन्छ, ‘दुःख भयो भन्दैमा जीवनमा हरेश खान हुँदैन, अहिले म खुशी छु ।’


 

अन्तिम अपडेट: बैशाख ३०, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया