साफ महिला च्याम्पियनसिप: नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा

 फागुन ३०, २०७५ बिहिबार १७:२९:१ | उज्यालो सहकर्मी

काठमाण्डाै - नेपाल साफ महिला च्याम्पियनसिपमा एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई  २-० गोलले हराएपछि नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । साथै बंगलादेशले पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

विराटनगरकाे शहीद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । बंगलादेशले पहिलो हाफमा पुरै आक्रामक खेले पनि गोल गर्न सकेन । जसका कारण उसले गोलरहित बराबरी खेल्नुपर्यो ।

तर दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले खेलमा अग्रता बनायो । झक्माको कर्नर बलमा मौसमीले बंगलादेशका लागि गोल गरिन् । भुटानका डिफेन्डर र गोलकिपर डी-बक्समा अलमलिएको अवस्थाको फाइदा उठाउदै बंगलादेशले गोल गर्न सफल भयो ।

तर ७३ औं मिनेटमा भुटानले गोल फर्काउने राम्रो अवसर खेर फाल्यो । उसको प्रहार पोष्टको केही इन्च माथिबाट बाहिरियो । ८६ औं मिनेटमा सविना खातुङले एकल प्रयासमा गोल गरेपछि बंगलादेशले खेलमा दुई शून्यको अग्रता बनायो ।

खेलको इन्जुरी समयमा फेरि खातुनको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा बंगलादेशले खेलमा तीन शून्यको अग्रता बनाउने मौका गुमायो ।

लगातार दुई खेलमा हार ब्यहोरेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने अब समूह ए को विजेताको टुंगो नेपाल र बंगलादेशबीचको शनिबारकाे खेलले गर्नेछ । प्रतियोगितामा शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया