मह सञ्चारकाे चलचित्र 'दालभात तरकारी' को गीत सार्वजनिक

 चैत १, २०७५ शुक्रबार १७:१४:१३ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – मह सञ्चारले निर्माण गरेको चलचित्र दालभात तरकारीको शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजनाका बीच गीत सार्वजनिक गरिएको हो । 

दालभात तरकारी बोलको गीतमा गायक राजेश पायल राई र स्मिता दाहालको आवाज रहेको छ । गीतको शब्द हाँस्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने संगीत संगीतकार शम्भुजित बासकोटाले संगीत भरेका छन् ।

प्रविण सिं‌‌हको कोरियोग्राफी रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गीत नयाँ फ्लेवरको भएका कारण पनि दर्शकको मनमा सजिलै बस्ने विस्वास व्यक्त गरे । हास्यकलाकार हरिवंश आचार्यले चलचित्रमा समावेश तीनै गीत अमेरिकामा रहँदा लेखेको बताए । उनले अघिल्लो गीतलाई जस्तै चलचित्रको शीर्ष गीतलाई पनि साथ दिन दर्शकलाई आग्रह गरे । 

यस्तै वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले पछिल्लो समय गीत संगीतमा निकै उत्कृष्ट पुष्ताको जन्म भएका कारण आफूलाई गीतको संगीतमा चुनौती भएको बताए । चुनौतीलाई अवसरमा परिणत गर्दै आफूले सक्ने मेहनत गरेका संगीतकार बास्काेटाको भनाइ थियो । 

नयाँ गीत सार्वजनिक कार्यक्रममा चलचित्रमा समावेश पहिलो गीत 'भिजिट भिसामा'लाई एक करोडभन्दा बढी पटक हेरिएको उपलक्ष्यमा सेलिब्रेशन पनि राखिएको थियो । 

 

गीतलाई एक करोड भ्यूज मिलेको खुशीमा लड्डु फुटाएर सेलिब्रेशन गरिएको थियो । महस ञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दालभात तरकारीका प्रस्तुतकर्ता किरण केसी हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसी गायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दीर्घ गुरुंङको छायाकंन रहेको छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमालाई रमिला आचार्य, यमनश्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले चलचित्रमा लगानी गरेका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया