हेटाैँडाका ४१ हजार कुखुरा मारिँदै

 चैत १, २०७५ शुक्रबार १८:५७:२४ | हरि हुमागाईं

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७, नागस्वतीमा पालिएका कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछl ४१ हजार कुखुरा नष्ट गरिने भएको छ ।

यस क्षेत्रका विभिन्न कुखुरा फर्ममा पालिएका कुखुरा नष्ट गर्ने निर्णय गरिएको हो । नागस्वतीका किसान कुलप्रसाद चौलागाईको बर्ड फ्लू लागेको खोरको केन्द्रलाई आधार मानेर चारैतिर पूर्वमा हेटौंडा ६ र ७ को सीमाना, पश्चिममा बवदेवी मन्दिर जाने बाटो, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, दक्षिणमा अदाक्ष मन्दिरको उत्तरी सीमाना भित्रमा पर्ने ४१ हजार कुखुरा नष्ट गर्न लागिएको हो । 

शुक्रबार प्रशासनमा भएको सर्वपक्षीय बैठकले यस क्षेत्रमा पर्ने कुखुराहरु नष्ट गर्नका लागि निर्णय गरेकाे मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । 

शुक्रबार  बसेको बैठकले यस वडामा रहेको ४८ फर्म मध्ये २८ वटा फर्ममा मात्रै कुखुरा बाँकी रहेको र त्यस फर्मको कुखुरा नष्ट गरिने निर्णय गरेकाे छ । तर क्षतिपूर्ति कति दिने भन्ने विषयमा भने शनिबार बिहान मात्र निर्णय गरिने प्रजिअ तामाङले बताउनुभएकाे छ ।

यही फागुन १३ गतेबाट लगातार रुपमा नागस्वती क्षेत्रका कुखुराहरु खोरै रित्तिने गरी मर्दै आएका थिए । कुखुरामा बर्ड फ्लू रोग निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरण गर्नका लागि मकवानपुर प्रशासनले रोक लगाएको थियाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया