दुबईमा घन्कियाे नेपथ्य, राष्ट्रिय भावनाले ओतप्रोत हुँदै झुमे हज्जाराैं नेपाली

 चैत २, २०७५ शनिबार २०:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चर्चित नेपाली लाेकपप ब्याण्ड नेपथ्यले शुक्रबार दुबईमा शानदार सांगीतिक कन्सर्ट प्रस्तुत गरेकाे छ ।

शुक्रबार बेलुकी कन्सर्ट सकिने बित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो शेयर गरेर लेखेका थिए– ‘सबैभन्दा पहिले हामी., धन्यवाद दुबई, माया र साथको लागि ।’

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पूरा गरिदिएको दृश्य देखिन्थ्यो । गीतका यि हरफहरुलाई अमृत सँगसँगै दर्शक भीडले पनि गाएर साथ दिएको थियो ।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए, ‘सबैभन्दा पहिले हामी.......?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरी सबैले एउटै स्वरमा जवाफ दिइरहेका थिए, ‘नेपाली’ । यो प्रश्नलाई अमृतले बारम्बार दोहोर्‍याइ रहेका थिए । दर्शकले हरेकपटक झनै चर्को स्वरमा उही जवाफ फर्काइरहेका थिए , 'नेपाली ।'

दुइ घन्टासम्म चलेको कन्सर्टबाट त्यो भिडियो केही सेकेण्डको भएता पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो । दुबईको ‘अल नासेर लिजर ल्याण्ड’ मा कलाकार र दर्शक पुरै झुम्मिएका थिए ।

अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केही समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई शेयर पनि गरे ।

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए । सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो ।

दर्शकदिर्घामा आयुष मान डंगोल पनि देखिन्थे । उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन् । ‘दुबइमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिने गरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्ने गरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुशी छु ।’

दुबईमा नेपथ्यको यो दोश्रो प्रस्तुति थियो । यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन ।

‘अघिल्लोपटक आउँदा हामी खुशीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबईमा प्रस्तुत भएका थियौं,’ अमृतले भने, ‘त्यही थलोमा यसपाली खुशी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ ।’

दुई घन्टासम्म लगातार चलेको कन्सर्टमा राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो । ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरि ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो ।

त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ले नेपालीपनको भावसहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया