खानेपानीका लागि घण्टौ लाइनमा

 चैत ३, २०७५ आइतबार ९:४:५२ | निर्मला खडायत
unn.prixa.net

कैलाली – गोदावरी नगरपालिका–१२, ओलानीकी डम्बरीदेवी भट्ट बिहानै गाग्री बोकेर धारामा पुग्नुहुन्छ । एक बाल्टी पानी भर्न उनले घण्टौंसम्म लाइन लाग्नुपर्छ । यो पीडा डम्बरीदेवीको मात्र होइन, ओलानीका अधिकांश स्थानीयको हो । धारामा पर्याप्त पानी नआउने हुँदा स्थानीयबासिन्दाले एक बाल्टी पानीका लागि घण्टौं लाइन लाग्नुपर्ने बाध्यता छ ।  

‘पिउने पानी पाउन धेरै गाह्रो हुन्छ, घण्टौं लाइन लागेपछि मुस्किलले बाल्टीभरी पानी पाइन्छ ।’ डम्बराले भन्नुभयो, ‘पिउने पानीसमेत नपाइने हाम्रो समस्या कसैले बुझिदिएनन् ।’ घरभन्दा केही टाढा रहेको धारा र नालामा पर्याप्त पानी नआउँदा समस्या रहेको उहाँको भनाई छ । चुरेको फेदीमा पर्ने गोदावरी क्षेत्रमा खानेपानीको चरम समस्या छ । कतिपयले इनार र नहरको पानी उपयोग गर्छन् । मुहान सुक्दै गएपछि ओलानी क्षेत्रमा रहेका धारामा पर्याप्त पानी आउँदैन । 

ओलानीकै ६० वर्षीया रंगादेवि नेपाली भन्नुहुन्छ ‘साँझ ८ बजे पानीको लाइनमा बसेपछि बिहानको ४ बज्छ । बल्ल एक बाल्टी पानी भर्न पाउँछौ ।’ नेपालीले मलिन मुहार लगाउँदै भन्नुभयो ‘५÷६ बाल्टिन पानी गाईबस्तुलाई खुवाउन चाहिन्छ । बोक्न सक्दिन भनेर पनि नहुने, बुढेसकालमा साह्रै दुःख छ पानीकै लागि ।’

साँझ हतार–हतारमा खाना खाएर पानीको लागि भाडा बोकेर डाँडातिर लाग्नु पर्ने बाध्यता उहाँले सुनाउनुभयो । ‘पानीको भाँडो बोक्दाबोक्दै टाउकाको कपाल झरिसक्यो’ उहाँले भन्नुभयो ‘पानीको अभावले नातीनातिनाका कपडा पनि सफा गरेर धुन सकिँदैन, कपडा फोहर भयो भनेर शिक्षकले कहिलेकाँही बालबालिकालाई घर फर्काइदिन्छन् ।’ पिउनकै लागि पानी पाउन मुस्किल रहेको अवस्थामा सरसफाइ गर्न पानी पाउन टाढाको कुरा भएको स्थानीयको भनाई छ । ‘कपडा फोहर देखेर शिक्षकहरुले गाली गर्नुहुन्छ,’ ८ कक्षामा अध्ययनरत सोना विक भन्छिन्, ‘पानी भए त आफैँ धुन हुन्थ्यो, खानलाई त मुस्किलले पाइन्छ । लुगा धुन कहाँबाट ल्याउनु ?’

अहिले नजिकैको खोलाबाट भए पनि ल्याउन सजिलो भए पनि वर्षायाममा भने खोलाको पानी धमिलो हुने भएकाले समस्या हुने गरेको स्थानीय बताउँछन् ।  ‘वर्षा हुँदा खोलाको पानी धमिलो हुन्छ । खानेपानी ल्याउन २ घण्टा हिँडेर नालामा पुग्नुपर्छ ।’ गोदावरी नगरपालिका–११ को दूर्गा आधारभुत विद्यालयमा ७ कक्षामा अध्ययनरत जलसा पार्की बताउँछिन्  ‘पानी ल्याउन जानुपर्ने भएकाले कति दिन त विद्यालय नै जान पाइँदैन ।’ 

बालबालिका र वृद्धवृद्धाहरु पनि खानेपानी लिन घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको जलसाले बताइन् । उनीहर नाला र कुवा पुगेर लामो समय लाइनमा बस्छन् । कत्ति रात त पानीको लागि कुवा र नालामै बिताउने गरेको स्थानीयको गुनासो छ । हिउँदको समय फोहारै पानी भए पनि उनीहरु घर नजिकको खोलाबाट ल्याउँछन । तर, बर्खाको समयमा खोलाको पानी धमिलो हुने भएकाले स्थानीयबासिन्दा गाग्रो बोकेर पानीका लागि बस्तीमाथिको डाँडातिर लाग्छन् । 

पिउने पानीको धेरै दु:ख छ’ गोदावरी नगरपालिका–१२ की पप्पुदेवी नेपालीले भन्नुभयो, ‘पानी नपाएर दुध दिने धेरै गाई भैँसी मरेका छन् । पानी बोकेर बस्तुभाउलाई खुवाउन सकिँदैन ।’ खानेपानीको चरम समस्या भए पनि कुनै निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

‘खानेपानीको सहज व्यवस्था गर्छौँ भनेर धेरैले आश देखाए’ गोदावरी नगरपालिका ११ का योगेन्द्रबहादुर खड्काले भन्नुभयो ‘तर, अहिलेसम्म हाम्रो दुःख ज्यूँका त्यूँ छ । जबसम्म हाम्रा घरमा खानेपानीको धारा जडान भएर पानी आउँदैन, तबसम्म कसैलाई विश्वास गर्न सकिने अवस्था नै छैन ।’ शुद्ध खानेपानी नपाएर गोदावरी नगरपालिका ११ र १२ ओलानीका अधिकांश बासिन्दालाई स्वास्थ्य समस्या देखिने गरेको छ । ‘जिवन जिउनै पर्छ, त्यसैले खोलाको धमिलो पानी खानु हाम्रो बाध्यता हो ।’ खड्काले भन्नुभयो ।

‘शुद्ध पानी हाम्रा लागि आकाशको फल आँखा तरी मर भनेजस्तै हो’ गोदावरी नगरपालिका–११ का बालकृष्ण जोशीले भन्नुभयो, ‘कति दिन त भैंसीे आहाल बसेको पानी मिठो मानेर खाइयो ।’ ओलानीमा खानेपानीका योजना सञ्चालन नभएका होइनन् तर, खोला नजिकबाट पाइपहरु जडान गरेकोले बर्खा समयमा खोलाले खानेपानीका पाइपहरु फुटाइ दिने, बगाएर लगि दिने गरेकोले लामो समय टिक्न नसकेको स्थानीयको भनाई छ । आफ्नो जीवनको ६४ वर्ष पानी अभावमै बिताएका जोशी छोरा–नातीको जीवन पानी अभावमा नबितोस् भन्ने चाहाना राख्नुहुन्छ ।  

खानेपानीको चरम समस्या रहेको (कैलालीको अत्तरिया नगरपालिकास्थित गोदावरी, ओलानी) मा रोटरी क्लब अफ सांघाइ र अस्ट्रेलियन रोटरी क्लबको सहयोगमा रोटरी क्लब अफ धनगढीले खानेपानी आयोजना निर्माण गर्ने भएको छ । गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद र रोटरी इन्टरनेशनल डिस्ट्रीक ३२९२ नेपाल–भुटानका गभर्नर चिन्तामणी भट्टराइले संयुक्त रुपमा खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । आयोजना बन्ने खुशीले स्थानीयले बाजा बजाएर स्वागत गरेका थिए । 

यो खानेपानी आयोजनाबाट अत्तरिया नगरपालिकाको वडा नम्बर ११ र १२ मा रहेको गोदावरी क्षेत्रका ६ सय घरधुरीमा खानेपानी सुविधा पाउने रोटरी क्लबले जनाएको छ । खानेपानी आयोजनाअन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको ११० फिट अग्लो खानेपानीको ओभरहेट ट्यांकी बन्ने बताइएको छ ।

रोटरी क्लबको करिब १ करोड ७० लाख र बाँकी जनश्रमदान गरी करिब २ करोडको लागत आयोजना निर्माण गरिने रोटरी क्लब अफ धनगढीका अध्यक्ष पुष्कर ओझाले जानकारी दिनुभयो । १० महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया