म्याग्दीका ३१ जना विद्यार्थी एसईई परीक्षा दिनबाट अयोग्य

 चैत ४, २०७५ सोमबार १४:१४:३६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका ३१ जना विद्यार्थीहरु यसवर्ष सञ्चालन हुन  गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट अयोग्य भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बीचैमा छाडेका, बिहे गरी अन्यत्रै गएका जस्ता कारण उनीहरुले परीक्षा दिन नपाउने भएका हुन् । 

एसईई परीक्षा दिन नपाउनेमा सबैभन्दा धेरै धौलागिरी गाउँपालिका–२, लुलाङको लमसुङ माध्यमिक विद्यालयका पाँचजना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

यसैगरी खुलातर्फ ३० जनामध्ये ५ जनाले पनि परीक्षा दिन नपाउने निमित्त इकाइ प्रमुख केशबहादुर बुढाथोकीले बताउनुभयो । यही चैत १० गतेबाट सुरु हुन गइरहेको एसइई परीक्षामा म्याग्दीबाट जम्मा २ हजार २ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार दुईजना दृष्टिविहिन विद्यार्थीहरु पनि एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ १ हजार १ सय ३१ जना छात्र र १ हजार १ सय ११ जना छात्रा रहेको निमित्त इकाई प्रमुख बुढाथोकीले बताउनुभएको छ । यीमध्ये २५ जना खुला, २२ जना प्राविधिक धारतर्फ र ७ जना ग्रेडवृद्धिका विद्यार्थीहरु रहेका छन् । 

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा एसईई परीक्षा सञ्चालनका लागि ९ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि आवश्यक तयारीलाई अगाडि बढाइएको छ । जिल्लामा सामुदायिक विद्यालयतर्फ ६२ र संस्थागत ९ ओटा विद्यालयहरु सञ्चालित छन् ।

यसैबीच सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले एसईई परीक्षामा सहभागी हुने छात्राहरुलाई लक्षित गरेर सेनेटरी प्याड खरिद गर्नका लागि नगद १५ हजार रुपैयाँको चेक उपलब्ध गराएको छ ।

छात्राहरुलाई महिनावारी हुने भएकाले त्यसको सहज व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइमार्फत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड खरिद गरी उपलब्ध गराउन सहयोग गरेको हो ।

गण्डकी प्रदेशको ११ ओटा जिल्लाका जम्मा २ सय १७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

परीक्षामा सहभागी हुने कुल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको मन्त्रालयका महिला विकास अधिकृत विष्णुमाया पौडेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया