विद्यालयमै स्यानिटरी प्याडको व्यवस्थाः महिनावारी हुँदा पनि विद्यालयमा नियमित हुन थाले किशोरी

 चैत ५, २०७५ मंगलबार १५:२१:० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटमा रहेको लक्ष्मीनारायण माविमा पढ्ने किशोरीहरु अहिले नियमित विद्यालय आउन थालेका छन् । 

विगतमा महिनावारी भएको बेला उनीहरु प्रायः विद्यालय आउँदैनथे । विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थे । आफ्नो स्वास्थ्य समस्या खुलेर राख्दैनथे । आफ्नो समस्या राख्न डराउँथे, लजाउँथे । 

तर अहिले विद्यालयमा पढ्ने किशोरीहरु महिनावारी भएको बेला पनि विद्यालय आउँछन् । विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था भएसँगै उनीहरु विद्यालयमा नियमित हुन थालेका हुन् । 

झनै विद्यालयमा किशोर र किशोरी दुवैको लागि छुट्टाछुट्टै रुपमा लैङ्गिक सम्पर्कव्यक्ति तोकिएपछि उनीहरुलाई आफ्नो स्वास्थ्य समस्या खुलेर राख्न र समस्याको समाधान खोज्न सहज भएको छ ।

समस्याबारे खुल्छन् किशोर–किशोरी

विद्यालयमा किशोरहरुका लागि शिक्षक रामकृष्ण खनाल र किशोरीहरुका लागि महिला शिक्षक शोभा श्रेष्ठलाई लैङ्गिक सम्पर्कव्यक्ति तोकिएको छ । 
विद्यालयमा पढ्ने किशोर–किशोरीहरु आफ्नो समस्या सम्बन्धित लैङ्कि सम्पर्क व्यक्तिसमक्ष खुलेरै राख्छन् ।

लैङ्गिक सम्पर्क व्यक्ति शोभा श्रेष्ठका अनुसार विगतमा महिनावारी भएको बेला किशोरीहरु विद्यालय आउँदैनथे । आफ्नो समस्या खुलेर राख्दैनथे ।
तर पछिल्लो समय विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा पनि किशोरीहरु विद्यालय नियमित आउँछन् । आफ्नो समस्या खुलेर राख्छन् ।

‘सुरुसुरुमा त छात्राहरु महिनावारी भएको बेला स्यानिटरी प्याड माग्न अरुलाई पठाउँथे । तर अहिले आफैँ माग्छन् । आफ्नो समस्याबारे खुल्छन्,’ उहाँले भन्नुभयो ।
अहिले आफूहरुले आफ्नो स्वास्थ्य समस्या सम्बन्धित लैङ्गिक सम्पर्क व्यक्तिसमक्ष खुलेरै राख्ने गरेको कक्षा ९ मा पढ्ने छात्रा सलिना थापाले बताउनुभयो ।
विद्यालयलाई विभिन्न गैरसरकारी संघसंस्थाले स्यानिटरी प्याड उपलब्ध गराउँदै आएका छन् । 

चालु आर्थिक वर्षमै दोर्दी गाउँपालिकाबाट गाउँपालिकाभित्र रहेका आधारभूत र माविमा पढ्ने छात्राका लागि स्यानिटरी प्याड खरीदका लागि एक लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका सामाजिक विकास संयोजक रमा खड्काले बताउनुभयो ।

उहाँका अनुसार यस गाउँपालिकाभित्र ५२ विद्यालय छन् । जसमा ८ आधारभूत विद्यालय र ८ मावि रहेका छन् ।

‘स्यानिटरी प्याड खरीदका लागि एक लाख रुपैयाँ गाउँपालिकाले छुट्याएको छ । अब छिट्टै प्याड खरीद गरी सम्बन्धित विद्यालयमा पठाउँछौँ,’ उहाँले थप्नुभयो ।

जिल्लामा रहेका प्रायः सबै आधारभूत र मावि तहमा पढ्ने छात्राका लागि  विद्यालयमै स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । यसले गर्दा महिनावारी भएको बेला पनि विद्यालयसम्म आएर पढ्न–लेख्नका लागि छात्राहरुलाई सहज भएको सरोकारवालाहरु बताउँछन् । 

किशोरीहरुलाई महिनावारीका बेला पनि विद्यालयसम्म आउने वातावरण सिर्जना गर्नका लागि ग्लोबल एक्सन नेपालले जिल्लामा रहेका विभिन्न विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएको हो ।

उक्त संस्थाले लक्ष्मी नारायण माविसँगै दोर्दी गाउँपालिकामै रहेको बराह मिलन आधारभूत विद्यालय हिलेटक्सार, सूर्योदय मावि भारते, सुन्दरबार नगरपालिकामा रहेको महेन्द्र मावि परेवाडाँडा, सँस्कृति सदन मावि सिन्दुरे, भारती सदन मावि बलिथुम, बेसीशहर नगरपालिकामा रहेको जनकल्याण मावि चिती, जनजागृति मावि बाँझाखेत, क्वहोलासोँथर गाउँपालिकाको जनज्योति मावि बाग्लुङपानी, मस्र्याङ्दी गाउँपालिकाको अमर मावि खुदी, महेन्द्र देव मावि तराञ्चे र मध्यनेपाल नगरपालिकाको करापु आधारभूत विद्यालय गरी जिल्लाका १२ वटा सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल एक्सन नेपालले भिएसओ नेपाल तथा युके एडको साझेदारीमा ती विद्यालयहरुमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया