असारमै कालोपत्रे सक्नुपर्ने पाटन विमानस्थलको काम अझै सुरु भएन

 चैत ५, २०७५ मंगलबार १७:१७:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्यमा ढिलाइ भएको छ ।

चैत मसान्तभित्र कालोपत्रे गरिसक्ने दाबी गरे पनि अहिलेसम्म कालोपत्रे गर्ने कार्य सुरु भएको छैन । गएको असारमै कालोपत्रे गरिसक्नुपर्ने विमानस्थलको कालोपत्रे गर्ने कार्य अझै सुरु हुन नसक्दा स्थानीयहरु निरास भएका छन् ।

२०७३ साल चैतमा सम्झौता भएर पाटन विमानस्थल पुनर्निर्माणको काम सुरु गरिएकोे थियो । सुरुको सम्झौताअनुसार असारमा काम गरिसक्नुपर्ने भए पनि अहिले सम्झौता सकिएको ८ महिना हुँदा पनि विमानस्थल कालोपत्रे हुन सकेको छैन ।

विमानस्थलको लम्बाइ ५९० मिटर र चौडाइ २० मिटरसम्मको धावनमार्ग कालोपत्रे गरिनेछ । यसका साथैे ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन पनि कालोपत्रे गरिनेछ । विमानस्थल निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भैरहेको छ ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको पाटन विमानस्थलमा अहिलेसम्मख कटिङ, फिटिङ र सबबेसको काम मात्रै सकिएको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर कविता भट्टले बताउनुभयो । विमानस्थल निर्माण सुरु भएपछि बेलाबेलामा हुने बन्द हडताल, इन्धनको अभाव, र निर्माण कम्पनीको पनि लापर्वाहीका कारण पनि द्रुत गतिमा काम सञ्चालन हुन सकिरहेको छैन ।

पाटन विमानस्थलको काम सुरु भएपछि वर्षाका कारणले गर्दा काम पनि ढिलो नै सुरु भएको अन्य विभिन्न कारणले पनि काममा ढिलाइ भएको हो । विमानस्थललाई स्तरोन्नति गर्ने कार्य अन्तर्गत बेस र सबबेसको काम सकिएर अब कालोपत्रेको काम मात्रै बाँकी रहेको इन्जिनियर भट्टले जानकारी दिनुभयो ।

विमानस्थल निर्माणका समयमा पार्याप्त मात्रामा इन्धन नपाउनु, बन्द, वर्षा, चिसोलगायतका कारणले विमानस्थल कालोपत्रेमा ढिलाइ भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले बताउनुभयो । डोटी विमानस्थलमा कालोपत्रे गरिरहेको मेसिन नै ल्याएर पाटन विमानस्थल पनि कालोपत्रे गर्ने निर्माण कम्पनीले तयारी गरिरहेकाले चैत मसान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्य राखेकोे बताए पनि अहिलेसम्म कालोपत्रे गर्ने काम नै सुरु नभएको उहाँले बताउनुभयो । पाटन विमानस्थल तोकिएको समयमा कालोपत्रे हुन नसक्दा स्थानीयहरु सशंकित भएका छन् ।

२०३२ सालमा निर्माण सुरु भएको पाटन विमानस्थले २०३५ सालदेखि हवाई सेवा दिए पनि २०५२ सालमा बन्द भएको थियो । पछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

पाटन विमानस्थल सञ्चालन भएपछि दार्चुला,बैतडी, बझाङ जिल्लाका पर्यटकीय क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकहरुको संङ्ख्यामा वृद्धी हुने पाटनका स्थानीय कृष्ण पन्तले बताउनुभयो । यसका साथै यस क्षेत्रको आर्थिक अवस्थामा पनि सुधार आउने उहाँले बताउनुभयो ।

पाटन विमानस्थल सुरु भएमा यस क्षेत्रका धार्मिक पर्यटनको विकास भइ आर्थिक वृद्धिदर हुने स्थानीयहरु बताउँछन् ।

दक्षिण एसियाको लामो गुफा मानिएको पत्तालभुमेश्वर,रौलाकेदार, त्रिपुरासुन्दरी र निङ्गलाशैनी भगवती अन्य धार्मिक स्थलहरु र दार्चुलाको अपि हिमाल बझाङको सैपाल हिमालमा पनि आन्तरिक तथा बाह्य पर्यटन बढ्ने अनुमान गरिएको छ । तर समयमै विमानस्थल निर्माण नहुँदा स्थानीयहरुमा निराशा छाएको  छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया