धनकुटाका लोकेन्द्र राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जिते

 चैत ५, २०७५ मंगलबार १९:१०:१७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – बंगलादेशमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन् ।

बंगलादेशमा मार्च १५ र १६ गते सम्पन्न दोस्रो वल्टन कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०१९ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन् । दुई दिनसम्म चलेको प्रतियोगिताको फाइनल चरणमा ६७ केजी तौल समूहको फाइनल खेलमा बंगलादेशका खेडालीलाई पछि पार्दै धनकुटा नगरपालिका–७, जिरोप्वाइन्टका खेलाडी लोकेन्द्रले स्वर्ण पदक विजेता बन्न सफल भएको धनकुटा कराते संघका अध्यक्ष तथा कराते प्रशिक्षक डिप्लव राईले बताए ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनकुटा जिल्लाका खेलाडी डिप्लव राई, कुशल श्रेष्ठ तथा आफैले स्वर्ण पदक र शक्ति राईले कास्य पदक जितेका थिए । 

प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेशलगायत सार्क राष्ट्रका खेलाडीहरू सहभागी थिए । प्रतियोगितामा नेपालले ८ स्वर्ण, २ रजत र ६ कास्य पदकसहित पहिलो भएको थियो । 

स्वर्ण जितेर धनकुटा आइपुगेका राईलाई मंगलबार जिल्ला कराते संघ धनकुटाले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया