यात्रामा महिलालाई शौचको समस्या !

 चैत ९, २०७५ शनिबार ११:३७:५१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

यात्रा बीपी राजमार्गको । सँगैको सिटमा थिइन् सोलुखुम्बुकी एक महिला । उनी स्थानीय राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्छिन् ।

म गाडी चढेको केही बेरदेखि नै उनी स्थानीय तहमा भ्रष्टचार मौलाएको बताइरहेकी थिइन् । म त्यो विषयमा छलफल गर्ने मुडमा थिइनँ । यात्रामा राजनीति, भ्रष्टाचार, अनियमितता जस्ता कुरा गर्दा मलाई यात्रा खल्लो लाग्छ । यात्रामा म सकेसम्म त्यस्ता विषयलाई बेवास्ता गर्छु । 

बिहान सात नबज्दै धुलिखेल पुगिसकेका थियौँ । जनप्रतिनिधिले डोजरे विकास गरेर भ्रष्टाचार गरेको, स्थानीय तह भ्रष्टाचारको अखडा बन्न थालेको जस्ता चर्चासँगै उनी चाउचाउ, कुरकुरे, दालमोठ जस्ता खानेकुरा चपाउँदै थिइन् । मलाई पनि खान कर गर्थिन् तर मैले बिहानै खान्न भनेँ । 

धुलिखेल अस्पताल कटेपछि मैले पानी पिएँ । उनलाई पनि दिएँ तर उनले पिउँदिन भनिन् । अनि भकुण्डेबेंशीमा खाजा खाएपछि गाडी अघि बढ्यो । पानी पिएँ, फेरि दिएँ नपिउने भनिन्, उनी ड्राई फूड खाइरहेकै थिइन् । मैलै यस्तो सुख्खा खानेकुरा खाएको छ पानी त पिउनु न भनें । तर उनले त आफूले अघिल्लो साँझदेखि नै पानी नपिएको बताइन्, अनि भनिन्– चिया पनि पिएको छैन, अघि खाजामा पनि चिया पिइनँ, अब बेलुका घर पुगेर मात्र चिया पिउने हो । 

मैले यात्रामा पानी पिउनु पर्छ नि भनेँ तर उनको जवाफले म छक्क परेँ । खासमा उनले गाडीमा पिसाब आउँछ भनेर पानी र पानीजन्य खानेकुरा नखाएकी रहिछन् । उनले भनिन्, ‘यात्रामा पिसाब लागेपछि निकै गाह्रो हुन्छ, त्यसैले हिजैदेखि सुख्खा खानेकुरा खाएर बसेकी छु । यो महिलाको साझा समस्या हो । यात्रा गर्ने महिलालाई सोध्नुस्, धेरैले पिसाबकै चिन्ता लाग्ने बताउँछन् ।’ 

सुन्दा हाँसो उठ्ने र सामान्य समस्या ठानिए पनि यो गम्भीर विषय थियो । दैनिक हजारौँ महिला गाडीमा यात्रा गरिरहेका हुन्छन् । उनीहरु धेरैलाई पिसाब फेर्नकै समस्या हुने र पिसाबको पिरले अघिल्लो दिनदेखि पानी नखाई बस्नु सामान्य समस्या भने होइन । 

हामीले दैनिक उमेर र तौल अनुसार चार-पाँच लिटरसम्म पानी पिउनुपर्ने डाक्टरहरु बताउँछन् । त्यो पनि पटक-पटक वा सम्भव भएसम्म हरेक घण्टा थोरै-थोरै गरेर पानी पिउन डाक्टरहरुको सुझाव छ । तर अघिल्लो रातदेखि नै पानी र पानीजन्य खानेकुरा नै छाड्न थालेपछि स्वास्थ्यमा समस्या आउने कुरा सामान्य हो । 

पानी नपिउँदा हुने समस्या एकातिर छ भने पिसाब आउँदा समयमा पिसाब नफेरेर हुने समस्या पनि उत्तिकै छ । मूत्ररोग विशेषज्ञ डाक्टर निर्मल लामिछाने दिसापिसाब समयमै गर्नुपर्ने बताउनुहुन्छ । 

लामिछानेका अनुसार, एउटा वयस्क मानिसको मूत्रथैलीमा दुई सय मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ । यो पिसाब बढेर तीन सय ५० मिलिलिटर पुगेपछि मानिसलाई पिसाबले निकै च्याप्छ । यति गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किन्छ । 

मिर्गौलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ । समयमा पिसाब नफेरेमा फर्किएर पुनः मिर्गौलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भई पिसाब छान्न समस्या हुने डाक्टर लामिछानेको भनाइ छ । लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीन रुपमा मिर्गौलाको समस्या देखिन्छ ।  

तर यात्रामा भेटिएकी समाजमा सक्रिय एक महिलाको कुराले मेरो मन छोयो । मैलै भनेँ, ‘खाजा-खाना खान रोकेको ठाउँमा शौचालय हुन्छ, अनि पिसाबले च्याप्यो भने बाटोमा पनि रोक्न लगाउँदा भैहाल्छ नि ।’

उनको जवाफ थियो, पुरुषलाई जत्तिको सजिलो महिलालाई छैन । होटल अगाडि रोक्दा त पिसाब फेर्न पाइन्छ, तर बाटोमा रोक्न लगाएर पिसाब फेर्न महिलालाई निकै असजिलो हुन्छ । पुरुषहरु बाटोको आसपासमै पिसाब फेर्न लाइन लागेको देखिन्छ, तर महिलाले त्यो आँट कम गर्छन् । 

उनले थप्दै गइन्, सार्वजनिक गाडी हो भन्नसाथ रोक्दैनन् पनि । अहिले विभिन्न स्थानीय तहले फोहोर हुने भएकोले सडकमा गाडी रोक्न पनि कडाइ गरेका छन् ।

रोकिहाल्दा पनि महिला मात्र निस्कने कुरा भएन, पुरुष पनि निस्किहाल्छन् अनि पिसाब फेर्न सँगै बस्न असजिलो भइहाल्छ । उनले हाँस्दै भनिन्, ‘पुरुषलाई जस्तो यसो छलिएर पिसाब फेर्न महिलालाई कहाँ सजिलो छ र ?’

उनले अघि गाउँमा भ्रष्टाचार बढ्यो भन्दै गरेको चिन्ता सबै बिर्सिइन् र यही पिसाबकै पिर सुनाउन थालिन् । मैले पानी दिँदै भनेँ ‘पानी चाहिँ पिउनुस्, पिसाब लाग्यो भने म गाडी रोक्न लगाउँछु । गाडीमा गुरुजीसहित ६ जना पुरुष र ४ जना महिला छौँ, पहिले महिलालाई मात्र बाहिर निस्कने व्यवस्था मिलाउँला ।’ उनले एक घुट्को पानी पिएर भनिन् ‘ तपाईँको कुरा त ठिकै हो, तर सँधै यसरी कहाँ हुन्छ र, धेरै पटक यात्रा गर्नुपर्छ म त पानी नै छाडिदिन्छु ।’

ती महिलाले सुनाएको कुरा उनको मात्र समस्या हैन । उनीजस्ता यात्रा गर्ने हजारौँ महिलाले यस्तै समस्या दैनिक रुपमा भोगिरहेका छन् । यो समस्या समाधानको बाटो खोजिनुपर्छ । अहिले स्थानीय सरकार गाउँघरको समस्या बुझ्न सजिलो ठाउँमा छ । उसले यस्ता विषयमा चासो राख्नुपर्छ । सडकमा गाडीको गतिलाई ध्यान दिएर हरेक डेढ-दुई घण्टामा भेटिने गरी सार्वजनिक शौचालय बनाइनु आवश्यक देखिन्छ । 

शुल्क लिएरै भए पनि शौचालय व्यवस्थापन गर्न सकिन्छ । बरु एउटा यात्रामा २०-३० रुपैयाँ तिर्नु, पिसाब रोक्नुभन्दा सजिलो हो । यो काम स्थानीय तहले नै गरेमा झनै सुनमा सुगन्ध हुन्छ । यो काम गर्न नसक्ने होइन र बेकामे काम पनि होइन । मानिसको जीवनसँग जोडिएको यस्तो काम स्थानीय तहले गर्नुपर्छ । 

अनि सार्वजनिक यातायात सञ्चालकहरुले पनि ठाउँठाउँमा पिसाब फेर्नको लागि गाडी रोक्ने व्यवस्था गर्नुपर्छ । एक दिनको यात्रामा खाजा र चिया खाने ठाउँ बाहेक चार ठाउँमा मात्र गाडी रोक्यो भने पनि महिला बालबालिकाका लागि राहात पुग्छ । चार ठाउँमा पाँच मिनेटका दरले रोक्दा २० मिनेट ढिला हुन्छ । गन्तव्यमा २० मिनेट ढिला पुग्नु भन्दा धेरै गुणा बढी समस्या पिसाब रोक्दा हुन्छ, त्यसैले यो काम गर्नैपर्छ । 

दिनभरको यात्रामा उनले महिलाहरुलाई सार्वजनिक यातायातमा हुने अरु विभिन्न समस्यासँगै पिसाब फेर्ने र महिनावारी भएको बेलामा प्याड फेर्ने समस्या निकै जटिल रहेको बताइन् । यो कुरा आम महिलाको समस्या हो । मैंले भनेँ, ‘निकै संवेदनशील कुरा गर्नुभयो, यो कुरालाई सार्वजनिक छलफलको विषय बनाइनुपर्छ ।’

उनले भनिन्, ‘तपाईँले समाचार लेख्नुस् न ।’

मैले लेख्छु, भनेँ ।

केहीबेरमा उनले भनिन्, ‘मेरो नाम नलेख्नु नि ।’

म– किन ? 

‘कस्तो पिसाब फेर्न नपाएकी भन्छन् ।’

मँ हाँसे मात्र । 

अन्तिम अपडेट: चैत १४, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

2 Comments

  • JK Sunwar-Okhaldhunge

    March 27, 2019, 3:45 p.m.

    यो एकदम जटिल समस्या हो / पश्चिमी देशहरुमा त हाइवेमा गाडी रोक्ने ठाउँ नै बनाएको हुन्छ , जहाँ पेट्रोल स्टेसन, चर्पी, चिया नास्ता खाने पसल पनि हुन्छ /नेपालमा पनि यस्तो सुबिधा ल्याउन सरकारले ध्यान दिन जरुरी छ / महिला यात्रुले कति कष्ट भोग्नु परेको होला /

  •  0 Reply
  • टेकबहादु वली

    March 23, 2019, 5:20 p.m.

    सामान्य लाग्ने तर अति महत्वपूर्ण विषय ।

  •  0 Reply

तपाईको प्रतिक्रिया