जिल्लामै पहिलो सुरक्षा ‘सेनेटरी प्याड’ उद्योग सञ्चालन

 चैत ९, २०७५ शनिबार १७:४२:४२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यान जिल्लामै पहिलो पटक प्याड उद्योग सञ्चालनमा आएको छ । सल्यानको सदरमुकाममा रहेको शारदा नगरपालिकाको वडा नम्बर ४ मा 'सुरक्षा सेनेटरी प्याड उद्योग' सञ्चालनमा आएको हो । 

महिनावारी भएको बेला महिलाहरुले भोग्दै आएका समस्या न्यूनिकरण गर्न जिल्लामै प्याडको सुलभ रुपमा उपलब्धता गराउन उद्याेग सञ्चालन गरेको सञ्चालक लक्ष्मी बस्नेतले बताउनुभयो । 

महिनावारी भएको समयमा फोहोर र पुरानो कपडाको प्रयोग गर्ने चलन रहेको र यसले महिला स्वास्थ्यमा असर पुर्‍याउने बस्नेतले बताउनुभयाे । उहाँले भन्नुभयाे, 'प्याडको प्रयोगले यस्ता समस्यामा केही कमी ल्याउन सकिने छ ।' 

सुरक्षा सेनेटरी प्याड उद्याेगकाे शनिबार उद्घाटन गरिएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी तथा उप-प्रमुख सावित्रा बस्नेतले उद्योगको उद्घाटन गर्नुभएको हाे । 

नयाँ शैक्षिकसत्र देखि सबै माविमा निशुल्क प्याड वितरण गरिने 

शारदा नगरपालिकाले नयाँ वर्षको शुरुवातसँगै नगरभित्रका १३ वटा माध्यमिक विद्यालयका छात्राहरुका लागि नि:शुल्क प्याड उपलब्ध गराउने भएको छ । सुरक्षा प्याड उद्योगको उद्घाटन गर्दै शारदा नगर प्रमुख अधिकारीले छात्राहरुलाई लक्षित गरी नगरपालिका भित्रका सबै माविमा नि:शुल्क प्याड वितरण गरिने जानकारी दिनुभयो । 

महिनावारी भएको अवस्थामा छात्राहरुले कक्षा छोड्नु परेको भन्दै नगरप्रमुख अधिकारीले प्याड नि:शुल्क वितरण गर्दा त्यो अवस्थाबाट छुटकारा मिल्ने अधिकारिले बताउनुभयाे । साथै महिला स्वास्थ्यलाई ध्यानमा राख्नु नगरको जिम्मेवारी भएको भन्दै अधिकारिले प्याडको सुरक्षित प्रयोग गर्न सबै महिला दिदी बहिनीलाई अनुरोध गर्नुभयो ।

शारदा नगर उपप्रमुख सावित्रा बस्नेतले सुरक्षित प्याडको प्रयोगले महिला स्वास्थ्यमा सकारात्मक अवस्था आउने बताउनुभयो । धेरै जसो महिलाहरुमा यौन रोग र संक्रमण हुने गरेको भन्दै उहाँले जिल्लामा महिलाहरुलाई लक्षित गरेर उद्योग खुलेकोमा प्रश‌ंसा गर्नुभयाे ।

यस्तै पत्रकार तथा मानव अधिकारकर्मी मिना बुढाथोकीले प्याड उद्योगले महिलाहरुको स्वास्थ्यको अधिकारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया