मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठायो

 चैत १०, २०७५ आइतबार ८:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको छ । योसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने संकेत मिलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले केही दिनअघि मात्र स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाएको हो । 

अब मन्त्रालयले नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्नेछ । मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिने भएको छ । 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो। कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो।

समझदारी कार्यान्वयनमा आउन थाले कामदार निःशुल्क मलेसिया जान पाउनेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया