गलत आचरण गरेकाे भन्दै डोटीका जिल्ला शिक्षा इकाई प्रमुखलाई नेविसंघका कार्यकर्ताले कालाेमाेसाे दले

 चैत १०, २०७५ आइतबार २०:५५:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो दलिएको छ । आइतबार दिउँसो करिब डेढ बजेतिर नेविसँघ समर्थित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् । 

त्यतिबेला पौड्याल विद्यालय शिक्षा परीक्षा (एसईई) को अनुगमन गरी दिउँसो आफ्नो कार्यकक्षमै बसिरहनुभएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार १०/१२ जनाको समूहमा आएका उनीहरुले प्लाष्टिकको झोलामा कालोमोसो बोकेर ल्याएका थिए । कालोमोसो दलेलगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् । 

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाँड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँड्ने गरेको, विद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाएर प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस विज्ञप्ति मार्फत उनीहरुले आरोप लगाएका छन् । 

त्यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, बढुवा हुने शिक्षक संख्या लुकाएको र एसईईका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरेर राजनीतिक कोटाका आधारमा छनौट गरेको विज्ञप्तीमा बताइएको छ । 

नेविसंघ पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझा लगायतका कार्यकर्ताहरुले हस्ताक्षर गरेकाे त्यस विज्ञप्तीमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोइराला र अरुण पौड्यालको बैङ्क खाता नं. विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गर्ने गरेको आरोप लगाइएको छ । 

विज्ञप्तीमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक-पटक जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको बताइएको छ । कालोमोसो लगाएको बारेमा प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो, ‘शिक्षक छनौटमा अनियमितता भएको भन्ने विषयमा विजय जी (विजयराज ओझा) ले कुरा गर्नु भएको थियो, त्यस विषयमा हामीले दुबै पक्षलाई राखेर छलफल गरेका थियौं, त्यसको रिजेल्ट अहिलेसम्म सार्वजनिक भएको छैन्’, उहाँले भन्नुभयो, ‘त्यसभन्दा बाहेक अरु कुनै लिखित वा मौखिक जानकारी आएको छैन ।’ 

उता जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले नौ बुँदे विज्ञप्ती जारी गर्दै कालोमोसो लगाएको जानकारी आएको बताउनुभयो । उहाँले यसबारे थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको समेत जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया