भाेजपुरमा ३ करोड रुपैयाँ अनियमितता गर्ने १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

 चैत १०, २०७५ आइतबार १९:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर - भोजपुरको षडानन्द गाउँपालिका ५ र ६ मा विद्युत विस्तारको क्रममा झण्डै ३ करोड रुपैयाँ अनियमितता गर्ने १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्द २ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको विगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमल राई, असिस्टेन्ट सब इन्जिनियर महेश कार्की, वडा नं. ८ का वडाध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, विद्युत विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फूर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्याक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठ हरेकलाई २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ विगो तोकिएको छ ।

षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने १८ लाख ६८ हजार रुपैयाँ विगो तोकिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुले आयोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी भुक्तानी समेत लिएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया